कालिकोट। निर्वाचन आयोग नेपालले इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ मा आगामी वैशाख १५ उपनिर्वाचन गर्ने जनाएको छ।
आइतबार एक विज्ञप्ति जारी गर्दै आयोगले हाल मतदाता नामावली दर्ता कार्य स्थगन गर्नेसमेत सूचित गरेको छ। आयोगका उपसचिव प्रवक्ता डा.थानेश्वर भुसालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मिति २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनपश्चात् रिक्त भएको इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य तथा बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्यको रिक्त पदका लागि मिति २०८१ वैशाख १५ गते शनिबार उपनिर्वाचन गर्ने गरी आयोगबाट मिति २०८० फागुन १३ गते मिति तोकिएको छ।’
विज्ञप्तिमा अगाडि भनिएको छ,‘मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा (२) को (२) बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता नहुने व्यवस्था भएकोले हाल नियमित रूपमा भइरहेको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य अर्को व्यवस्था नभएसम्मको लागि स्थगन गर्ने आयोगले मिति २०८० फागुन १३ गते निर्णय गरेकोले सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।’