काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले नेपालीले नेपालभित्र नै नेपाल खोज्न नसकेको बताएका छन्।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको प्राकृतिक स्रोत साधनको सही तरिकाले परिचालन र सही तरिकाले देशको नेतृत्व गर्न नसकिएको बताएका हुन्।
वीर गोर्खाली भनेर संसारलाई स्वतन्त्र बनाउन हिँडेकाहरूलाई देश विकासमा लगाउन नसक्नु ठुलो कमजोरी भएको उनले बताए। नेता भण्डारीले मन्त्री, प्रधानमन्त्री बनेकाहरूले आफ्नो घर बनाए पनि समग्र नेपाल बनाउनेबारे नसोचेको बताए। नेताहरूले थोरै लोभ त्याग्ने र कर्मचारीहरूले छिटो–छिटो काम गर्दिने हो भने असन्तुष्टिहरू काम हुँदै जाने उनको दाबी छ। अहिलेको स्थितिको समाधानका लागि सबै राजनीतिक दलहरूले आफूभित्रै परिवर्तन गर्नुपर्ने उनले बताए।
मुलुक बिगार्ने जोसुकै भए पनि कारबाही हुनुपर्ने उनले बताए। वरिपरि गरिब राखेर बिचको ठुलो घर अब धेरै दिन टिक्दैन भन्ने सन्देश दिन आवश्यक रहेको उनले बताए। कांग्रेसको महासमितिको बैठकमा दस्ताबेज बनाउँदा र कार्यक्रम ल्याउँदा जनतासँग जोडिएका, किसानसँग जोडिएका र राज्यका संरचनासँग जोडिएका कुराहरूलाई अगाडि बढाउने उनले बताए।
अहिले नेपालको राजनीतिक नेतृत्व अत्यन्त कमजोर रहेको दाबी गर्दै उनले संविधान संशोधनको कुरा उठाउँदा प्राप्त उपलब्धि गुम्ने खतरा रहेको बताए। अहिले कांग्रेसमा उठिरहेको हिन्दु राष्ट्रको बहस एकआपसमा छलफल र समीक्षा हुने बताए।
आफू लागेको बाटोलाई यो राम्रो नराम्रो भन्नुभन्दा पनि जनताको भावनालाई कदर गर्नुपर्ने उनको भनाइ छ। धर्मनिरपेक्षताको पक्षमा कांग्रेसले पनि हस्ताक्षर गरेको भन्दै आफू यसको विरुद्धमा नबोल्ने उनले बताए।