माओवादीमा केन्द्रीय अध्यक्ष पार्टी सदस्यबाट प्रत्यक्ष चुनिनुपर्ने सुझाव



काठमाडौँ। माओवादी केन्द्रको जारी विधान अधिवेशनमा पार्टीको केन्द्रीय अध्यक्ष सम्पूर्ण पार्टी सदस्यबाट प्रत्यक्ष रुपमा चुनिनुपर्ने सदस्यहरुले सुझाव दिएका छन्।

बुधवार समूह ९ बाट आएका सुझाव समूह नेता रञ्जित तामाङले अधिवेशनमा प्रस्तुत गरेका थिए। समूहगत छलफलमा केही सदस्यहरूले केन्द्रीय अध्यक्ष पार्टी सदस्यहरूबाट अध्यक्ष चुनिनुपर्ने र पदाधिकारीको उम्मेदवार केन्द्रीय सदस्यबाट हुनुपर्ने सुझाव दिएका हुन्।

यस्तै सम्पूर्ण समिति प्रत्यक्ष निर्वाचित हुनुपर्ने सुझाव दिएका छन्। केहीले समितिले पदाधिकारी चुन्ने व्यवस्था यथावत् राख्नुपर्ने धारणा राखेका छन्।

यसैगरी पार्टीका हरेक पदाधिकारी र राजकीय पदहरूमा एक तहमा दुई कार्यकालको व्यवस्था राख्नुपर्ने धारणा राखेका छन्। तर, समानुपातिक प्रतिनिधित्व र राष्ट्रियसभा सदस्य एक कार्यकाल बनाउनुपर्ने सुझाव आएको छ।