सीके राउतले देखेका विकासका ५ बाधक तत्व



काठमाडौं। जनमत पार्टीका अध्यक्ष सीके राउतले पार्टीको केन्द्रीय सचिवालयको बैठकमा छलफलका लागि राजनीतिक प्रस्ताव पेस गरेका छन् ।

जनमत पार्टीको २१ माघमा बसेको सचिवालय बैठकमा राउतले नेपालमा विकास हुन नसक्नुका पाँच कारणहरूसहित यसका विकल्प समेत उल्लेख गरेर छलफलका लागि प्रस्ताव पेश गरेका हुन् ।

प्रस्तावमा राजनीतिक संरक्षणमा बेथिति, भूराजनीतिक परिवेश, नेतृत्वमा दूरदृष्टि र प्रतिवद्धताको कमी, अस्थिर सत्ता र भ्रष्टाचार संस्थागतलाई मुलुकको विकासका बाधकका रूपमा उल्लेख गरेका छन् ।

यस्ता छन् सीके राउतले देखेका पाँच बाधक उनकै शब्दमा :

. राजनीतिक संरक्षणमा बेथिती

नेपालमा राजनीतिको आड र शीर्ष नेताको संरक्षणमा जे गरे पनि हुने, जे भत्काए पनि हुने, यहाँसम्म कि हत्याहिंसा गरे पनि मिलाउन सकिने खालको बेथिती छ । विद्यालयको शुल्क तिर्नु पर्छ, आन्दोलन वा तोडफोड गरे तिर्नुपर्दैन ।

सवारी साधन र सार्वजनिक सम्पत्तिमा तोडफोड भएको छ, जिम्मेवार हुनुपर्दैन । अस्पतालमा तोडफोड गरेर पनि उम्किन सक्ने । उद्योगमा पनि उद्योगीहरूद्वारा पनि मनपरीतन्त्र छ भने आफू अनुकुल भएन भने कामदारहरू पनि जतिखेर पनि आन्दोलन गरेर बन्द गर्न सक्छन् ।

यस्तो माहौलमा शिक्षा, स्वास्थ्य, रोजगारी, सार्वजनिक सेवा आदिसँग सम्बद्ध संस्थाहरू निर्धक्क भएर स्थापित हुन सक्दैनन् र निर्वाध रूपमा सेवाप्रवाह गर्न सक्दैनन् । लगानीकर्ताहरूलाई सुरक्षित महसुस हुँदैन । सरकारी तवरबाटै पनि कतिखेर कुन नीति आइदिने हो त्रास बनिराख्छ । जसले गर्दा दीर्घकालीन नीति तहत लगानी हुँदैनन् ।

२. भूराजनीतिक परिवेश

नेपाल कागजी रूपमा स्वतन्त्र भए पनि यथार्थमा यहाँ हरेक राजनीतिक र आर्थिक महत्वपूर्ण निर्णयहरू, गठबन्धन निर्माण र सरकार परिवर्तन बाह्य प्रभावमा नै हुन्छ ।

त्यसलाई झेल्न सक्ने राजनैतिक नेतृत्व वा दलहरू भइदिएनन् । जसले बाह्यशक्तिको निर्देशन विपरीत निर्णय गर्छ, उसको सरकार त्यति नै खेर ढल्छ र अर्को पात्र खडा गरिन्छ । यसबाट बच्नका लागि एउटै उपाय छ– प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री ।

३. नेतृत्वमा दूरदृष्टि र प्रतिवद्धताको कमी

नेपालको नेतृत्व आफ्नो विभिन्न कमी कमजोरी र विगतका गल्तीहरूको कारणले गर्दा चाहेर पनि दूरदृष्टि राख्न सक्दैनन् र आसन्न सत्ता निर्माणमा नै उनीहरूको ध्यान र ऊर्जा केन्द्रित हुन्छ ।

सत्तामा पुग्नका लागि आन्तरिक बाह्य शक्ति केन्द्रहरूसँग जस्तोसुकै सम्झौता गर्न बाध्य हुन्छन् । जुन आफू वा बढीमा आफ्नो पार्टी वा मान्छे बचाउन केन्द्रित हुन्छ । देश र जनताको अवस्था के छ र कस्तो हुनेछ, त्योसँग इमान्दारीपूर्वक कुनै सरोकार रहने गरेको छैन ।

सत्तामा पुग्नका लागि वा बाह्य शक्ति केन्द्रहरूसँग सामीप्यता र बफादारी देखाउनका लागि ऋण लिइदिएको वा अन्य सम्झौताहरू गरिदिएको प्रशस्तै उदाहरणहरू छन् । ती ऋण र सम्झौताहरू स्पष्ट रूपमा देश वा जनताको लागि घातक नै थिए ।

त्यस्तै नेतृत्वमा प्रतिवद्धताको कमी छ । को प्रति प्रतिवद्ध हुने, को प्रति जिम्मेवार हुने ? साँच्चिकै रूपमा हृदयले नै देशप्रति प्रतिवद्ध हुने र जनताप्रति जिम्मेवारी हुने स्तरको बोध देखिदैन । राजनीतिको सुरुवात गर्दाखेरि कतिपयमा त्यो देखिएको भएता पनि सत्तामा पुग्दासम्म विभिन्न परिबन्धमा बाँधिन गई त्यो स्तरसम्म प्रतिवद्ध नै हुन पाउँदैनन् ।

४. अस्थिर सत्ता

नेपालको सत्ता प्रजातन्त्र आएपछि कहिले पनि स्थिर भएन र स्थिर नभएपछि यसका नीति तथा कार्यक्रमहरू, रणनीति र योजनाहरू केही स्थिर हुने भएनन् । एउटा सरकारले गर्न खोजेको कुरा केही महिनामै सरकार परिवर्तन भएपछि थन्किन्छ । एउटा कार्यालय प्रमुखले गर्न वा थिति बसाउन खोजेको कुरा अर्को आएपछि सकिन्छ ।

५. भ्रष्टाचार

जतिसुकै राम्रो योजना भए पनि यदि भ्रष्टाचार छ, त्यो पनि नीतिगत, संस्थागत र दण्डहीनताको बीचमा छ भने त्यो देश विकसित हुन गाह्रो छ । त्यसमा पनि नेपाली समाजले भ्रष्टाचारलाई सामाजिक रूपमा स्वीकार गरेको अवस्था छ ।

अरूले गरेको भ्रष्टाचारलाई देख्ने मान्छे समेतले आफूले गरेको भ्रष्टाचारलाई भ्रष्टाचार भन्दैनन् । न त परिवार, समाज वा देशबाट नै भ्रष्टाचारीहरू सामाजिक रूपमा बहिष्कृत वा लज्जित हुनु परेको छ । बरु भ्रष्टाचार गर्न पाउनु आफूलाई पाको ठान्ने र जति ठूलो भ्रष्टाचार गर्‍यो उति ठूलो गर्वको विषय जस्तो हुँदै आएको छ ।