काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज)ले कम्युनिस्ट पार्टीका सोचको दायरा फराकिलो पारेको भन्दै जबज समाप्त पार्ने विचार कुनै हालतमा मान्न नसकिने बताएका छन्।
आइतबार पार्टी उपाध्यक्ष समेत रहेका कृषि मन्त्री डा. बेदुराम भुसालद्वारा लिखित ‘जनताको बहुदलीय जनवादको विकासक्रम’ नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रतिस्पर्धाको राजनीतिबाट कम्युनिस्ट पार्टीहरू नभाग्ने पनि बताए। ‘जबजले हाम्रो सोचको दायरा फराकिलो, जनतासँगको सम्बन्धमा घनिष्ठ बनाउने र साम्राज्यवादीहरूलाई आरोप लगाउने ठाउँ दिएन। एक्ल्याउने स्थिति बनेन’, अध्यक्ष नेपालले भने, ‘कुनै पनि शक्तिसँग वैचारिक आधारमा उभिने, कानुनको शासन मान्ने, नियन्त्रण र सन्तुलनको परिपाटी मान्ने, आवधिक निर्वाचनको परिपाटीमा जाने, बहुमत ल्याउनेले सरकार चलाउने र अल्पमतमा हुनेले प्रतिपक्षमा बस्ने यो परिपाटी हामीले स्थापित गरेका छौँ।’
पार्टीकै अर्का नेता झलनाथ खनालले जबज छाड्नुपर्ने बताइरहेका बेला अध्यक्ष नेपालले यस्तो बताएका हुन्। ‘तर विचार नै परिवर्तन गरेर। हिजो जबजलाई दक्षप्रजापतिको टाउको भन्ने, आज यसलाई समाप्त पार्ने लाग्ने विचारलाई किमार्थ ठिक भन्न सकिँदैन,’ अध्यक्ष नेपालले नेता खनालप्रति लक्षित गर्दै भने।
उनले अहिले आफूहरू समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको भन्दै यो चरणमा पनि जबजको उपादेयता रहने बताए । उनले चीन, भियतनाम, क्युबाको जस्तो समाजवाद नेपालमा नहुने भन्दै बहुदलीय प्रतिस्पर्धासहितको समाजवाद हुने बताए । बहुदलीय प्रतिस्पर्धासहितको समाजवादमा वर्गको अस्तित्व, विचार र पार्टी समेत हुने नेपालको भनाइ छ ।