गठबन्धन पाँच वर्षसम्म चल्छ: अध्यक्ष नेपाल



धनुषा। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको जति नै विरोध गरे पनि गठबन्धन नभत्किने बताएका छन्।

बिहीबार धनुषामा आयोजित पत्रकार सम्मेलनमा उनले गठबन्धन कतिपयलाई नपचेको भन्दै जति नै प्रयास गरे पनि पाँच वर्षसम्म गठबन्धन चल्ने बताए।

उनले भने, ‘यो गठबन्धन कतिपयलाई पचिरहेको छैन, बान्ता नै भइरहेको छ। गठबन्धनको नाम सुन्ने बित्तिकै वाक्क दिक्क मान्छन्। तर, उनीहरू जतिसुकै गठबन्धनको विरोधमा लागे पनि गठबन्धन भत्किने वाला छैन। पाँच वर्षसम्म गठबन्धन रहन्छ,’ उनले अगाडि भने,‘ गठबन्धनले मुलुकलाई राजनीतिक स्थायित्व दिन्छ र जनताको इच्छा बमोजिमअनुसार सुशासन कायम गर्छ। भ्रष्टाचारलाई नियन्त्रण गर्न कटिबद्ध छ। भ्रष्टाचारीलाई कारबाही गरोस् भन्ने कुरामा सरकार अगाडि बढोस् भन्ने हाम्रो पनि चाहना छ।’

यस्तै उनले भाषण र वाचाभन्दा परिणाममुखी काम गर्न सरकारलाई आग्रह गरेको भन्दै यसको लागि गम्भीर भएर लाग्न आवश्यक रहेको बताए। उनले भने, –‘भाषण र वाचाभन्दा परिणाममुखी काम गर्नुपर्छ र त्यसको लागि सरकारलाई आग्रह पनि गरेका छौँ । विगतका गल्तीलाई समीक्षा गर्नुपर्छ। कनिका छरे जसरी बजेट छर्ने। आवश्यक नभएको योजनामा लगानी गर्ने बानी छ, आफ्नो निर्वाचन क्षेत्र र बजेटबाहेक देशको बारेमा सोच्ने सोचको अभाव छ।’

मसानघाटबाट भूत जगाए जस्तै राजतन्त्रलाई फेरि ब्युँताउन खोजिरहेको भन्दै यो व्यर्थको कसरत नगर्न पनि उनले आग्रह गरे। उनले भने, ‘हराई सकेका शक्तिहरू, राजतन्त्रलाई फेरि ब्यूताउन खोजिरहेका छन्, मसानघाटबाट भूत जगाए जस्तै जगाउन खोजिरहेका छन्। तर, उ जाग्ने वाला छैन। केही गर्नेवाला पनि छैन। जाग्न पनि दिँदैनौ, टिक्न पनि दिँदैनौ। त्यस कारणले व्यर्थको कसरत नगरौँ।’