काठमाडौँ। बालकुमारी घटना जाँचबुझ आयोगले घटनाबारे बयान दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बोलाएको छ।
मन्त्री ज्वालालाई आयोगमा उपस्थित हुन पत्राचार गरिएको आयोगका एक जना सदस्यले रातोपाटीलाई बताए। उनले भने, ‘मन्त्रिपरिषद्मा जानकारी गराएर उहाँलाई पत्र पठाएका छौँ।’
मन्त्री ज्वालाले माघ १७ मा आयोगमा गएर आफ्ना कुरा राख्ने आयोगलाई जानकारी गराएका छन्। पुस १३ मा बालकुमारीमा प्रहरीको ‘घातक’ बल प्रयोगबाट वैदेशिक रोजगारीमा जान चाहने अछामका वीरेन्द्र शाह र दैलेख घर भएका सुजन रावतले ज्यान गुमाए।
प्रदर्शनस्थलमा अकस्मात् भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला उपस्थित भएपछि भिड थप आक्रोशित बनेको जानकारहरु बताउँछन्। मन्त्री ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको गाडी प्रदर्शनकारीले जलाएका थिए।
प्रदर्शन स्थलमा मन्त्री र प्रदर्शनकारीको बिचमा भनाभन भएको भिडियो सार्वजनिक भएको छ। दृश्यमा प्रदर्शनकारीले मन्त्रीलाई पछाडिबाट धकेलेका छन्। त्यसपछि पैदल हिँड्दै उनी कान्तिपुर गार्डेनस्थित नेकपा (समाजवादी) पार्टीको बैठक स्थलमा प्रवेश गरे, दिनभर निस्केनन्।
जाँचबुझ आयोगले अहिलेसम्म ३१ जनाको बयान लिएको छ। ललितपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र प्रहरी वरिष्ठ उपरिक्षक सिद्धिविक्रम शाहसहित ३१ जनासँग बयान लिएको आयोगका अध्यक्ष (पूर्वन्यायाधीश) शेखर पौडेलले रातोपाटीलाई बताए।
घटनास्थलमा प्रहरीले सेल्फ लोडिङ्ग राइफल (एसएलआर) बाट ३० राउन्ड गोली चलाएको छ। घटनास्थलमा २१ राउन्ड रबर बुलेट प्रहार गरिएको छ। त्यस्तै अश्रुग्याँस ११४ राउन्ड प्रहार गरेको छानबिनबाट थाहा भएको छ। ललितपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले आफूले गोली चलाउने आदेश नदिएको आयोगमा बताएका छन्।