राष्ट्रिय सभा निर्वाचन आज



काठमाडौं। राष्ट्रिय सभा निर्वाचन आज सातै प्रदेशमा हुँदै छ। मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने छ।

मतदान सकिएलगत्तै मत गणना सुरु हुने र आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनको नतिजा ३–४ घण्टाभित्र सार्वजनिक गर्ने गरी तयारी गरिएको जानकारी दिए।

राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटका लागि निर्वाचन हुन लागेको हो। एकजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन्।

निर्वाचन आयोगका अनुसार निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार छन्। कोशी प्रदेशमा ५, मधेसमा ५, बागमतीमा १५, गण्डकीमा ८ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ६/६ जना उम्मेदवार छन्।

सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उम्मेदवार छन्।