एकीकृत समाजवादीको सचिवालय वैठक सम्पन्न (निर्णयसहित)



काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को सचिवालय वैठक सम्पन्न भएको छ।

सोमबार पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा सम्पन्न सचिवालयको वैठकले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदारलाई जिताउन पार्टी पंक्तिलाई आह्वान गर्ने, पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीहरूको रिपोर्ट कार्ड माग्ने, भारतीय विदेशमन्त्री र विभिन्न देशसँग भए/गरेका सम्झौताबारे सरकारसँग जानकारी लिने निर्णय गरेको छ।

पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाकाअनुसार यहि माघ ८ गते बिहान ११ बजे बस्नेगरी महाधिवेशन मस्यौदाबारे छलफल गर्न बनेको विधान मस्यौदा समितिको बैठक बोलाउने निर्णय पनि गरेको छ।

वैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानिमा उपमहासचिव खतिवडाले भन्नुभयो, ‘हाम्रो पार्टीका तर्फबाट सरकारमा जानुभएका मन्त्रीहरुले आजसम्म के कस्ता कामहरु गर्नुभएको छ, कस्तो प्रगति भएको छ,  त्यसको विवरण पार्टीमा बुझाउन बैठकले निर्देशन गरेको छ। त्यस्तै बैठकले राष्ट्रिय सभामा उठेका गठबन्धनका उम्मेदवारहरू जिताउन पार्टी पंक्तिलाई आह्वान गरेको छ। त्यसबाहेक सो पार्टीले भारतीय विदेशमन्त्रीलगायत विभिन्न देशसँग भएका सहमतिहरू सार्वजनिक गर्न सरकारसँग माग गर्ने निर्णय पनि गरेको छ।’

सरकारमा नेकपा (एकीकृत समाजवादी) बाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र कृषि मन्त्री डा.बेदुराम भुसाल सहभागी हुनुहुन्छ।