सवारी दुर्घटनाका त्रुटि पत्ता लगाउन भौतिक मन्त्रालयले बनायो कार्यदल



काठमाडौँ। दिन प्रतिदिन सवारी दुर्घटनाका घटनाहरू बढ्न थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदसीय कार्यदल गठन गरेको छ।

सडक दुर्घटनाबाट मानवीय,आर्थिक र भौतिक क्षति हुन थालेपछि मन्त्री प्रकाश ज्वालाले भौतिक र प्राविधिक पक्षका त्रुटिहरु पत्ता लगाउन कार्यदल गठन गरेका छन्।

नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको यात्रृबहाक बस शुक्रबार राति दुर्घटना हुँदा ११ जनाले ज्यान गुमाएका थिए। यसबीचमा थानकोट-चित्लाङमा भएको दुर्घटनामा ५ जनाको ज्यान गएको थियो। त्यसैगरी शनिबार बाग्लुङको बुर्तिबाङबाट ढोरपाटन जाँदै गरेको जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको थियो।

दुई दिनभित्र १९ जनाको ज्यान गएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भौतिक तथा प्राविधिक त्रुटि पत्ता लगाउन कार्यदल गठन गरेको मन्त्रालयका सहसचिव रघुराम विष्टले बताए। सडक दुर्घटनाका त्रुटि र कमजोरी पत्ता लगाउन मन्त्रालयका पूर्वसचिव धनबहादुर तामाङको अध्यक्षतामा पाँच सदसीय कार्यदल गठन भएको हो।

संघीय सडक सुपरिवेक्षण कार्यालय सुर्खेतका सीई श्यामबहादुर खड्का, सवारी अनुगमन मापदण्ड तर्जुमा र सवारी चालक ब्यवस्थापन अन्तरप्रदेश समन्वय, अनुसन्धान शाखाका निर्देशक, प्रहरी प्रधान कार्यलय ट्राफिक महाशाखाका प्रतिनिधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिडिई सुरेश श्रेष्ठ सदस्य सचिव रहने गरी कार्यदल गठन गरिएको छ।

कार्यदललाई एक महिनायताका सवारी दुर्घटना, विगतका कार्यदलका प्रतिवेदन र स्थलगत अध्ययन गर्न, सडक दुर्घटनाका कारण र पक्षको विश्लेषण गर्न, सडक दुर्घटना न्यूनीकरण गर्न संस्थागत र प्राविधिक पक्षको विश्लेषण गर्न गरी जिम्मेवारी दिइएको छ।

सडक दुर्घटना न्यूनीकरणका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उपायहरू सुझाउन पनि कार्यदललाई जिम्मेवारी दिइएको सहसचिव विष्टले बताए। आइतबार नै बसेको सडक सुरक्षा परिषदको बैठकले पनि चारवटा निर्णय गरेको छ।

मन्त्रालयका सचिव केशव शर्माको अध्यक्षतामा बसेको बैठकले सवारी दुर्घटनाबारे अध्ययन समिति बनाउने, सडक सुरक्षा विज्ञहरूको सूची तत्काल तयार गर्ने, तालिम र जनचेतनामा तत्काल काम थाल्ने तथा सडक सुरक्षाबारे बनेको विधेयक समितिमा पठाउने निर्णय गरेको छ।