पिएम कप प्रतियोगिता: कर्णाली प्रदेशले विजयी सुरुवात



भैरहवा। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले विजयी सुरुवात गरेको छ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले गण्डकी प्रदेशलाई ७ विकेटले हराएको हो। आफ्नो पहिलो खेलमा लुम्बिनीसँग ४ विकेटले पराजित गण्डकीको यो लगातार दोस्रो हार हो।

टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीको सुरुवात नै राम्रो भएन। २२ रन बनाउँदा ५ विकेट गुमाएका भए पनि पुछारका ब्याट्सम्यानले टिकेर ब्याटिङ गरेपछि गण्डकीले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाउँदै १२२ रन बनाएको थियो।

गण्डकीका लागि कमल परियार र अमृत गुरुङले समान २१ रन बनाए। आठौं नम्बरमा ब्याटिङमा आएका कमलले ४४ बलमा २ चौका प्रहार गरेका हुन्। सातौं नम्बरका ब्याटर अमृतले ५४ बलमा २ चौका नैहानेका थिए।

छैटौं ब्याटर अश्वानी रानाले १६ रन बनाए। कप्तान विपिन खत्रीले १० रन बनाए। चन्द्र पौडेल १४ र अंकित न्यौपाने २ रनमा अविजित रहे।कर्णालीका लागि अनसज चनारा, दिनेश अधिकारी, दिपेन्द्र रावतले समान २/२ विकेट लिए। प्रकाश जैशी, दिवान पुन र रविन्द्र रावतले १/१ विकेट लिए।

१२३ रनको लक्ष्य कर्णालीले ३३.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो। कर्णालीका लागि ५३ रन बनाएका हिमान्शुले ७१ बलमा ५ चौका र २ छक्का प्रहार गरे। ओपनर रविन्द्र शाहीले २० रन बनाए। ओपनर निश्चल रावल २९ र अर्जुन घर्ती १० रनमा अविजित रहे। गण्डकीका लागि अंकित न्यौपानेले २ विकेट लिए। कप्तान विपिन खत्रीले १ विकेट लिए।