सडक अनुशासनको कडाइकासाथ पालना गरौं: मन्त्री ज्वाला



काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले दाङ बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

शुक्रबार राती साढे १० बजे नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस दाङको भालुवाङस्थित राप्ती नदीमा खस्दा १२ जना यात्रुको ज्यान गएको थियो।

उक्त घटनाप्रति मन्त्री ज्वालाले दुःख व्यक्त गरेका हुन्। मन्त्री ज्वालाले सडक दुर्घटनाबाट बच्न र बचाउन सबैले सडक अनुशासनको कडाइका साथ पालना गर्नसमेत अनुरोध गरेका छन्।

सामाजिक सञ्जाल फेशबुक मार्फत मन्त्री ज्वालाले भनेका छन्, ‘नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस दाङको भालुवाङस्थित राप्ती नदीमा खस्दा १२ जना यात्रुको ज्यान गएको छ। धेरै जना घाइते हुनुभएको छ। दुर्घटनाको यो खबरले अत्यन्त दुःखी बनाएको छ। सडक दुर्घटनामा ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। परिवारजनमा पीडा सहने शक्ति प्राप्त होओस् भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछु। सवारी दुर्घटना रोक्न सबैले सडक अनुशासनको कडाइका साथ पालना गरौं भन्ने अनुरोध गर्दछु।’

चक्का नघुमेपछि बस नदीमा खस्यो: चालक

दाङको भालुबाङमा शुक्रबार राति भएको बस दुर्घटना प्राविधिक कारणले भएको चालकले बताएका छन्। सल्यान त्रिवेणी निवासी २८ वर्षीय चालक लालबहादुर नेपालीले प्रहरीसमक्ष चक्का नघुमेपछि बस पुलबाट राप्ती नदीमा खसेको बयान दिएका हुन्।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लले बस चालक लालबहादुरले ‘ड्राइभ शाफ्ट’ बिग्रिएर चक्का नघुमेपछि बस नदीमा खसेको बयान दिएको बताए। यद्यपि दुर्घटनाको प्राविधिक जाँच भने हुन बाँकी रहेको उनले बताए।

दुर्घटनामा सामान्य घाइते भएका चालक लालबहादुर प्रहरीको नियन्त्रणमा छन्। नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजे पुलबाट तल राप्ती नदीमा खसेको थियो।

भालुबाङको ट्राफिक बिट पार गरेको केहीबेरमा बस पुलको दायाँतर्फबाट पुलको रेलिङ भत्काएर नदीमा खसेको थियो। दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने २० बढी घाइते भएका छन्।