प्रचण्ड ३४ वर्षदेखि निरन्तर नेतृत्वमा



काठमाडौँ। माओवादीको नयाँ विधानले अझै दुई कार्यकाल अध्यक्ष पुष्पकमल दाहाललाई प्रमुख नेतृत्वमा रहने व्यवस्था गरेको छ।

हालै ७१ वर्ष टेकेका उनी विधान पारित भएको मितिले आठ वर्ष पार्टीको प्रमुख नेतृत्वमा रहने छन्। दुई कार्यकालपछि उनी ४२ वर्ष पार्टीको मूल नेतृत्वमा रहने छन्।

प्रचण्ड ३४ वर्षदेखि निरन्तर नेतृत्वमा

तत्कालीन मशालका महामन्त्री मोहन वैद्यले ३३ वर्ष अघि सेक्टर काण्डबाट पार्टीलाई भएको क्षतिको जिम्मेवारी लिँदै राजीनामा दिएपछि उनी नेतृत्वमा उदाएका थिए। उनी नेतत्वमा आएदेखि न अध्यक्षका लागि चुनाव भएको छ, न कुनै नेताले अध्यक्षमा चुनौती दिएको छ। २०४८ मा संसदीय चुनावलाई उपयोग गरी प्रतिनिधिसभामा नौ र राष्ट्रियसभामा दुई सिट जितेको माओवादीले १० वर्ष सशस्त्र युद्ध गर्‍यो। ०६४ मा शान्ति प्रक्रियामा आएपछि पहिलो पार्टी बनेको माओवादी त्यसपछि तेस्रो राष्ट्रिय पार्टीको हैसियतमा रहे पनि सरकार निर्माणमा निर्णायक पार्टी बन्दै आएको छ र यसको नेतृत्व दाहालले गर्दै आएका छन्।

२०४५ सालमा राजधानीमा सेक्टर काण्डका नामले चिनिने घटनामा प्रहरी पोष्टमाथि आक्रमण हुँदा तत्कालीन मशालका नेता तथा कार्यकर्ता पक्राउ परेका थिए। त्यसलाई कमजोरीको रुपमा स्वीकार गर्दै महामन्त्री मोहन वैद्यले राजीनामा दिएका थिए। त्यही घटनापछि दाहाल पार्टीको मुख्य नेतृत्वमा उदाएका थिए। २०४६ मा पार्टी महामन्त्री बनेका थिए। त्यसपछि उनी अनवरत पार्टीको नेतृत्वमा छन्।

दाहाल २०४१ मा नेकपा (मशाल) को पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि उनले पछि फर्केर हेर्नु परेको छैन। २०४२ मा पार्टीको पोलिटब्युरो सदस्य, महामन्त्री हुँदै पार्टी अध्यक्ष भएका थिए। मशाल, चौथो महाधिवशेनसँग एकता भएर २०४८ बनेको एकता केन्द्रको उनी महामन्त्री भए।

२०४८ सालमा भएको चौथो महाधिवशेनबाट उनी नेकपा (एकताकेन्द्र) को महामन्त्री बने। यसैगरी २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन पछिको बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि पुनः महामन्त्री चयन भएका थिए। माओवादीले सशस्त्र युद्ध सुरु गर्नुअघि खुला मोर्चा संयुक्त जनमोर्चा नेपालको अध्यक्ष भने बाबुराम भट्टराई थिए। पार्टीको नेतृत्व दाहाल र खुला मोर्चाको नेतृत्व भट्टराईले गरेका थिए। २०५२ सालदेखि सुरु भएको जनयुद्धको नेतृत्व गरे।

सशस्त्र युद्धको बेला माओवादीभित्र अन्तरसंघर्ष चर्किए पनि दाहालकै नेतृत्वमा अरु वरिष्ठ नेताहरु रहे। मोहन वैद्य, बाबुराम भट्टराईले बेलाबेला पार्टीमा फरक मत राखे पनि दाहालको नेतृत्वलाई चुनौती दिएनन्। २०६५ पुसमा माओवादी र नारायणकाजी श्रेष्ठले नेतृत्व गरेको एकता केन्द्र मसालबीच एकता भयो। अध्यक्ष दाहालको नेतृत्वमा एकीकृत माओवादी केन्द्र बन्यो।

युद्धकै बेला २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको निर्विरोध अध्यक्ष भए। २०६९ सालमा हेटौंडामा सम्पन्न महाधिवेशन र २०७० सालमा विराटनगरमा सम्पन्न एकताको महाधिवेशनबाट पुनःअध्यक्ष पदमा निर्वाचित भए। २०७८ पुसमा भएको आठौं महाधिवेशनबाट उनी पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भए। उनी २०६५, २०७३ र २०७९ गरी तीन पटक प्रधानमन्त्री भइसकेका छन्।

कान्तिपुरबाट साभार