काठमाडौँ। जग्गाको स्वामित्व र मुआब्जा समस्याले अवरुद्ध नागढुंगा सुरुङ मार्गको निर्माण कार्य मंगलबारदेखि पुनः सुचारु भएको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आन्दोलनरत स्थानीयबासीसँग छलफल गरेपछि अवरुद्ध सुरुङ मार्गको काम पुनःसुचारु भएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले जानकारी दिनुभयो।
नागढुंगा सुरुङ मार्गको धादिङ साइडमा जग्गाको स्वामित्व र मुआब्जा समस्या देखाउँदै स्थानीयबासीले निर्माण कार्य रोकेका थिए। आन्दोलनरत जग्गाधनीलाई सिंहदरवार बोलाएर मन्त्री ज्वालाले छलफल गर्नु भएको थियो। पूर्वसांसद भूमी त्रिपाठीसहितको टोली सिंहदरवार पुगेको थियो। सुरुङ मार्गको धादिंङ खण्डमापर्ने जग्गा नेपाल सरकारको हुने कि स्थानीयबासीको हुने ? भन्ने विवादले कंक्रिट लाइनिङको काम रोकिएको थियो।
सडक विभागले सडक र नाली सुधारगर्ने, जग्गाको स्वाभित्व सम्बन्धी विवाद मालपोत कार्यालय धादिंङलाई राखेर जिल्ला प्रशासन कार्यालयमा छलफल गर्ने सहमति भएपछि निर्माण कार्य सुचारु हुने भएको छ। स्थानीय बासीले अबरोध गरेपछि सुरुङ भित्रको कंक्रेटि लाइनिङ गर्ने कार्य अवरुद्ध बनेको थियो।
मन्त्री ज्वालाले जग्गाको स्वामित्व र मुआब्जा समस्या कानुनको दायराभित्र रहेर खोज्ने बताएपछि स्थानीयबासीले सुरुङमार्गको निर्माण कार्य नरोक्ने प्रतिवद्धता जनाएको सडक विभाग बैदेशिक शाखाका प्रमुख विजय जैसीले जानकारी दिनुभयो।