न्याय सेवाका २१९ कर्मचारीको सरुवा



काठमाडौँ। न्याय सेवा आयोगले दुई सय १९ जना अधिकृतको सरुवा गरेको छ ।

प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ अध्यक्ष रहने आयोगले मंगलबार उच्च अदालत पोखरा, दिपायल, विराटनगरसँगै जिल्ला अदालतहरू सिन्धुपाल्चोक, महोत्तरी, नुवाकोट लगायत कार्यालयहरूमा न्याय सेवाका  कर्मचारी सरुवा गरेको हो।

सर्वोच्च अदालतका इजलास अधिकृत मुकुन्द आचार्यलाई उच्च अदालत पोखराको वाग्लुङ इजलासमा रजिस्ट्रार, सर्वोच्चकै अर्का इजलास अधिकृत रातादत्त बडुलाई उच्च अदालत दिपायलको उपरजिष्ट्रार र उच्च अदालत पाटनका उपरजिष्ट्रार विष्णु प्रसाद पाण्डेयलाई उच्च अदालत विराटनगरको स्थायी इजलास ओखलढुंगामा रजिष्ट्रारको रूपमा सरुवा गरेको छ ।

 त्यस्तै सर्वोच्च अदालतका शाखा अधिकृत पुष्कर थापालाई बारा जिल्ला अदालत, उच्च अदालत पाटनको हेटौँडा इजलासका इजलास अधिकृत हरिनारायण ज्ञवालीको डोल्पा जिल्ला अदालतमा तहसिलदारको रूपमा सरुवा गरेको छ । आयोगले सुर्खेत, मुगु, बाँके लगायत जिल्ला अदालतहरूमा शाखा अधिकृतको सरुवा गरेको छ।

आयोगले कानुन समूहका अर्जुन प्रसाद खनाल र राजन नेपाललाई कानुन समूह राप्र प्रथम श्रेणी सहसचिव वा सो सरहमा बढुवा गरेको छ । त्यस्तै सरकारी वकिल तर्फ रुद्र प्रसाद पन्थी र उमाकान्त पौडेललाई राप्र प्रथम श्रेणी सहसचिव वा सो सरहमा बढुवा गरेको छ।

आयोगले न्याय समूहका उपसचिव वा सो सरहका पदमा १४ जनाको बढुवा गरेको छ भने कानुन समूहका तीन जना र सरकारी वकिल समूहका ६ जनलाई उपसचिव सरहमा बढुवा गरेको छ ।