सुर्खेत। नेपाली काङ्ग्रेसले राष्ट्रियसभाका निम्ति १० जना उम्मेदार छनोट गरेको छ।
संस्थापन पक्षका ७ र संस्थापन इतर पक्षका ३ गरी १० उम्मेदवार काङ्ग्रेसले टुंगो लगाएको हो। राति अबेर सुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक र सोमबार बिहानमात्र बसेको संसदीय बोर्डको बैठकले उम्मेदवार छनोट गरेको हो।
कर्णालीबाट रूकुमपश्चिमका कृष्ण बहादुर रोकायालाई उम्मेदार छनोट गरेको पार्टीको सूचना तथा सञ्चार विभागका केन्द्रीय सदस्य अशोकनाथ योगीले जानकारी दिएका छन्। रोकाय कांग्रेस कर्णाली प्रदेश समितिका महामन्त्री हुन्।
योगीकाअनुसार सुदूरपश्चिबाट नारायणदत्त भट्ट र बलदेव बोहराले टिकट पाएका छन्। त्यस्तै कोशीमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले टिकट पाएका छन्। मधेशमा आनन्द प्रसाद ढुंगानाले टिकट पाएका छन्। उनी केन्द्रीय सदस्य र पार्टीको अनुशासन समितिको संयोजक हुन्।
वाग्मतीमा विष्णु देवी पुडासैनी र जितजंग बस्नेतले टिकट पाएका छन्। विष्णु देवी महिला संघ काठमाडौंको पूर्व अध्यक्ष हुन् भने बस्नेत तरुण दलको पूर्व अध्यक्ष हुन्।
गण्डकीमा किरण बाबु श्रेष्ठ र पदम बहादुर परियारले टिकट पाएका छन्। गोरखाका श्रेष्ठ प्रदेश महामन्त्री हुन् भने पदम बहादुर परियार तनहुँका हुन्। परियार अपाङ्ग पनि हुन्। उनीहरू दुवै जना संस्थापन इतर पक्षका हुन्। लुम्बिनीमा विष्णु देवी सापकोटाले टिकट पाएकी छन्। गुल्मीकी संस्थापन इतर नेता सापकोटाले महिला कोटाबाट टिकट पाएकी हुन्।