उपकुलपति नियुक्तिका लागि पुन: दरखास्त आह्वान



काठमाडौं। त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि पुन: दरखास्त आह्वान भएको छ।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो।इच्छुक व्यक्तिले कार्यविधिमा उल्लिखित कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन सक्नेछन्।

यसअघि प्रकाशित भएको दरखास्त आह्वानको सूचना रद्धगरेर समितिले पुन: नयाँ सूचना जारी गरेको हो। समितिले यही पुस २० गते शुक्रबार सूचना जारी गर्दै उपकुलपतिका लागि दरखास्त आह्वान गरेको थियो । प्रावधानबारे विवाद भएपछि आइतबार रद्द भएको सूचना जारी गरिएको थियो।

गत शुक्रबार प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि) पेस गर्न सूचना निकालेपछि त्यसको विरोध भएको थियो।

विवाद सिर्जना भएपछि कुलपति एवम् प्रधानमन्त्री प्रचण्डले नै सच्याएर अर्को सूचना निकाल्न निर्देशन दिएका थिए। सोहीअनुसार पुरानो प्रक्रिया रद्द गरी नयाँ सूचना निकालिएको हो।

नयाँ सूचनामा कुनै प्रावधान उल्लेख नगरी ‘छनोट तथा सिफारिससम्बन्धी कार्यविधि-२०८० बमोजिम उपकुलपतिको पदमा दरखास्त दिन इच्छुक र योग्य व्यक्तिबाट दरखास्त आह्वान गरिएको छ’ भनिएको छ। र, कागजातका सन्दर्भमा कार्यविधिमा उल्लिखित कागजातसहित दरखास्त दिन भनिए छ।