एकीकृत समाजवादीको सचिवालय बैठक सर्‍यो



काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सरेको छ ।

आज (शुक्रबार)का लागि बोलाइएको बैठक भोलि (शनिबार) बिहान बस्नेगरी सारिएको सो पार्टीका केन्द्रीय सचिव समेत रहेका केन्द्रीय कार्यालयका सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार नेताहरुको कार्यव्यस्तताका कारण बैठक सारिएको हो ।

‘नेताहरुको कार्यव्यस्तताका कारण आजको बैठक भोलि शनिबारलाई सारिएको हो, अरु केही कारण छैन’, श्रेष्ठको भनाइ छ । श्रेष्ठले नेताहरुको कार्यव्यस्तता भनेपनि सत्ता गठबन्धनमा राष्ट्रिय सभा निर्वाचनमा भागबण्डा मिलिनसकेकाले बैठक सारिएको श्रोतको दाबी छ ।

विधानको मस्यौदाबारे केन्द्रीय कमिटीबाट पारित प्रस्ताव र राष्ट्रियसभा निर्वाचनको उम्मेदवारका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी मनोनयन गर्ने समय निर्वाचन आयोगले तोकेकाले दलहरु आन्तरिक रुपमा उम्मेदवार छनोटमा व्यस्त छन् ।