नेपालले भोगिरहेको समस्याबारे आवाज उठाउन आवश्यक छ: विष्णु रिजाल



काठमाडौँ। नेकपा (एमाले) का प्रभावशाली नेता तथा विदेश विभागका उपप्रमुख विष्णु रिजालले भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउँदा नेपालका सरकारले देशको हितमा अडान लिनुपर्ने बताएका छन्।

बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले छिमेकी मुलुकसँग आफ्नो देशको हितमा अडान राख्दा कुनै पनि राष्ट्र नरिसाउने उनले बताए ।

उनले आफ्नो पार्टीको तर्फबाट भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको सफलताको शुभकामना व्यक्त गरे । नेपालको तुलनामा भूगोल, अर्थतन्त्र र जनसङ्ख्याको आधारमा भारत ठुलो भए पनि सार्वभौम सत्ताको दृष्टिले दुवै देश समान हैसियतमा रहेको उनको भनाइ छ । सार्वभौमसत्ता र देशको हितलाई ध्यानमा राखेर सरकारले आफ्ना कुराहरू राख्नुपर्ने उनले बताए ।

केपी शर्मा ओली प्रधानमन्त्री भएको बखत संविधान संशोधन गरेर नेपालको वास्तविक भूभागसहित राखेर नक्सा सार्वजनिक गर्दा आफूहरूले भारत सरकारसँग वार्ता र छलफलबाट समाधान खोज्न आग्रह गरेको उनले स्मरण गराए । त्यसपछि सरकार परिवर्तन भएको र वर्तमान सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण हुँदा यस विषयलाई कार्पेटमुनि लुकाइएको उनको टिप्पणी छ ।

एमालेले कसैलाई पनि नहेप्ने र आफू पनि नहेपिने उनको भनाइ छ । एमाले समस्याहरूलाई वार्ताका माध्यमबाट समाधान गर्नुपर्छ भन्ने कुरामा विश्वास गर्ने दल भएको उनले बताए ।

भारतीय विदेश मन्त्रीको नेपाल भ्रमणका क्रममा नेपालले भोगिरहेको समस्याबारे जोडदार रूपमा आवाज उठाउन आवश्यक रहेको उनले बताए । भारतमा चिकित्सा अध्ययन गरिरहेका नेपालीहरूलाई त्यहाँ समान कामको समान ज्याला नरहेको र भारत भ्रमणका क्रममा नेपालीहरूले त्यहाँ सहज रूपमा सिम कार्ड नपाउनेलगायतका विषयमा पनि जोडदार रूपमा कुरा राख्नुपर्ने उनको माग छ ।

नेपाल र भारतबिच रहेका जति पनि समस्यालाई वार्ता र संवादको माध्यमबाट समाधान खोजेर समाधान हुन नसकेका कुरालाई पुनः वार्ता र संवादको वातावरण बनाउनुपर्ने उनको भनाई छ । एस जयशंकरको नेपाल भ्रमणका क्रममा राष्ट्रिय हित, मर्यादा, स्वाभिमान र राष्ट्रिय स्वार्थको कुरा राख्न उनले नेपाल सरकार र परराष्ट्रमन्त्री एनपी साउदलाई आग्रह गरे ।