काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ललितपुरको बालकुमारीमा दुई जनाको मृत्यु भएको घटनामा आफूलाई दोषीका रुपमा देखाउन गर्न खोजिएको भन्दै असन्तुष्टि जनाएका छन्।
सोमबार राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफलमा गृहमन्त्री र प्रहरी प्रमुखले मन्त्रीको गाडी नपुगेको भए परिस्थिति त्यस्तो नहुने बताएका थिए। त्यसको भोलिपल्ट मंगलबार विहान आफ्नो पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवुकमार नेपाललाई लिएर मन्त्री ज्वाला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए।
उनले गृहमन्त्रीले दोषजति आफूतिर सोझ्याएर जोगिन खोजेको गुनासो गरेका थिए। ईपीएस कोरिया शाखाका कारण विवाद उत्पन्न भएको र सुरक्षा व्यवस्थामा भएको कमजोरीका कारण दुर्घटना हुन पुगेको मन्त्री ज्वालाले बताएका छन्।
‘ईपीएसका कारण समस्या उत्पन्न भयो, दुई पक्षको झडपमा मसँग जोडिँदैन’ उनले प्रधानमन्त्रीसँग भएको संवादबारे भने, ‘त्यहाँको परिस्थिति थाहा नभएर हामी गाडी बाटोमा आयो।’ प्रदर्शनकारीले रोकेपछि आफूहरु गाडी छाडेर आएको र सुरक्षा निकायले त्यसको सुरक्षा गर्न नसकेको मन्त्री ज्वालाले बताए।
यसमा जिम्मेवार निकायले आफूलाई देखाएर कमजोरी लुकाउन खोजेको उनको गुनासो छ। शुक्रबारको घटनापछि मृतकका परिवारलाई सम्वादमा ल्याउने र सहमति गराएर परिस्थितिलाई सामान्यीकरण गर्न आफूले भूमिका खेलेको भएपनि राज्य व्यवस्थामा घटना आफूतिर सोझ्याउन खोजेको मन्त्री ज्वालाले गुनासो गरे।
जवाफमा प्रधानमन्त्री प्रचण्डले भने परिस्थिति एकाध दिनमा सहज हुने बताएका थिए। साथै भौतिक पूर्वाधार ठूलो बजेट र परियोजनाहरु जोडिएको मन्त्रालय भएकाले कामको गति झन् बढाउन आग्रह गरेको मन्त्री ज्वालाले जानकारी दिए।