काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बालकुमारी घटनाका दोषीहरू दण्डित हुनुपर्ने बताउनु भएको छ।
सोमबार ४८औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले बालकुमारी घटनामा पार्टीका मन्त्री प्रकाश ज्वालाको गल्ती नरहेको स्पष्ट पार्नु भएको छ।
पार्टीका उपमहासचिवसमेत रहनु भएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला बैठकबाट निस्किएर सिंहदरबार जाने क्रममा प्रदर्शन भइरहेको स्थानमा फस्न पुगेको बताउनु भयो।
त्यसमा मन्त्रीका पिएसओ र सुरक्षा अधिकारीबीच संवादको ‘ग्याप’ हुन पुगेको अध्यक्ष नेपालको भनाइ छ। ‘बालकुमारीमा हाम्रो केन्द्रीय कमिटीको बैठक बसिरहेको थियो। ठाउँ कता त थाहा छैन मलाई, आमुन्नेसामुन्ने छ श्रम मन्त्रालयअन्तर्गतको इपिएस कार्यालय। त्यो पश्चिमतिर थियो। हाम्रो बैठक बसिरहेको थियो पूर्वतिर। हामी त बैठकमा पूरै व्यस्त थियौं, थाहा भएन। उहाँ सरकारी कामको सिलसिलामा बाहिर निस्कनुभएछ। त्यही क्रममा फस्नुभएको हो। अरू कुनै सिलसिलामा होइन,’ उहाँले भन्नुभयो।
‘यसलाई अन्यथा कसैले लिनुहुँदैन। हाम्रो पार्टी यसमा अत्यन्तै गम्भीर छ। यस सवालमा सरकार अत्यन्तै गम्भीर हुनुपर्छ। सरकारले गम्भीरतापूर्वक छानबिन गर्नुपर्छ। घटनामा जहाँबाट गल्ती भएको छ, उनीहरू दण्डित हुनुपर्छ,’अध्यक्ष नेपालको भनाई छ।