जापानको भूकम्पमा परी १३ जनाको मृत्यु



काठमाडौँ। जापानको भूकम्पमा परी १३ जनाको मृत्यु भएको छ।

मृतक सबै भूकम्पको केन्द्र इशिकावा क्षेत्रका हुन्। सोमबार दिउँसो जापानको मध्य भागमा अवस्थित इशिकावा केन्द्रविन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पबाट इशिकावा, निगता, फुकुइ, तोयामा र गिफु क्षेत्र प्रभावित भएका छन्। भूकम्पपछि जापानको मौसम विभागले सुनामी आउने चेतावनीसहित सूचना जारी गरेको थियो। तर, पछि ति सूचनाहरु हटाइएको थियो।

अहिले भूकम्प प्रभावित क्षेत्रहरुमा खोज तथा उद्धारको काम जारी रहेको जापानको सरकारी सञ्चार माध्यम एनएचकेले जनाएको छ। जापानको सेल्फ डिफेन्स फोर्स ‘एसडीएफ’ का एक हजार जनशक्तिलाई खोज तथा उद्धार कार्यमा परिचालन गरिएको जापानका प्रधानमन्त्री फुमियो किशिदाले बताएका छन्। उनीहरु उत्तरी नोटो प्रायद्वीपमा समुद्री मार्गहरु स्थापना गर्न प्रयास गरिरहेको उनले बताएका छन्।

भूकम्प प्रभावित क्षेत्रमा घर, सडक र बिजुलीका लाइनहरुमा क्षति पुगेका फोटो भिडियोहरु सामाजिक सन्जालमा देखिन्छन्। इशिकावाको वाजिमा शहरमा एक सय भन्दा बढी घरहरु भत्किएका छन्। यो पर्यटकीय शहर पनि हो।

यसैगरी इशिकावाकै सुजु शहरको एक प्राचीन मन्दिर पनि पूर्णरुपमा भत्किएको छ। त्यसको भग्नावशेषमा मानिसहरु पुरिएको हुनसक्ने अनुमान छ। भूकम्प प्रभावित विभिन्न ठाउँमा धुवाँको मुस्लो उडेको देखिएकाले आगलागी भएको अनुमानसमेत गरिएको छ।