प्रतिनिधिसभामा पराजित नेताहरू राष्ट्रिय सभामा जान दौडधुप



काठमाडौँ। एक वर्षअघि मात्र भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षमा पराजित तथा समानुपातिक सूचीमा रहेका सत्तारूढ दलका नेताहरू राष्ट्रिय सभा पुग्ने दौडधुपमा लागेका छन्।

जबकि संविधानको भावनाविपरीत हुने यस्तो होडबाजी रोक्न निर्वाचन आयोगले मस्यौदा गरेको कानुन सरकारले संसद्मा पुर्‍याएको छैन। राष्ट्रिय सभा पुग्ने र पुर्‍याउने होडमा कांग्रेस नेताहरू सबैभन्दा अगाडि छन्। पार्टी नेता कृष्णप्रसाद सिटौलाको जोडबल सबैभन्दा बढी छ। त्यस्तै सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, केन्द्रीय सदस्यहरू सुजाता कोइराला, पुष्पा भुसाल, भरत शाह र गेहेन्द्र गिरीलगायत छन्। यी सबै चुनाव हारेका केन्द्रीयस्तरका नेता हुन्।

कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो राजनीतिक सहजताका लागि पूर्वमहामन्त्री सिटौलालाई राष्ट्रिय सभामा ल्याउनुपर्ने बाध्यता रहेको निकटस्थसँग सुनाउँदै आइरहेका छन्। संविधान निर्माणका बेला संविधान मस्यौदा समितिको नेतृत्व गरेका सिटौला संविधान जारी भएपछि २०७४ र २०७९ का दुवै निर्वाचनमा झापा–३ बाट हारेका थिए। चुनाव हारेलगत्तै राष्ट्रपति बन्न खोजेका उनी सफल नभएपछि यतिबेला राष्ट्रिय सभामा छिर्ने दौडधुपमा सक्रिय छन्। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ।