काठमाडौँ। दुई जना युवकको ज्यान जाने गरी भएको ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा गम्भीर लापरबाही देखिएको भन्दै सरकारले सम्बन्धित अधिकारीहरूलाई जिम्मेवारीबाट हटाएको छ।
शनिबार बिहान प्रधानमन्त्री र गृहमन्त्रीसहित सुरक्षा निकायका अधिकारीहरूबीच भएको छलफलमा उक्त निर्णय भएको हो। प्रदर्शनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो।
गृहमन्त्री नारायणकाजी श्रेष्ठकाअनुसार बिहानको छलफलमा ललितपुरका प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधानकार्यालय र जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ रुद्रप्रसाद पण्डितलाई गृहमन्त्रालयमा तान्ने निर्णय भएको छ। त्यस्तै, प्रदर्शनमा खटिएका स्पट कमान्डर डीएसपी उमेश लम्साललाई पनि निलम्बन गर्ने बैठकले निर्णय गरेको श्रेष्ठको भनाई छ।
प्रदर्शनमा मन्त्री प्रकाश ज्वालाको सवारीमाथि आगजनी भएको थियो। त्यसमा ज्वालाको पीएसओको लापरबाही देखिएकाले उनलाई पनि निलम्बन गर्ने निर्णय गरिएको छ। उच्चस्तरीय बैठकमा भएका निर्णयलाई कार्यान्वयन गर्न यतिबेला प्रहरीको बैठक बसिरहेको छ। यसबारे आजै निर्णय गरिने बताइएको छ।
बैठकले ईपीएस कोरियाका प्रमुखलाई पनि सरुवा गर्ने निर्णय गरेको मन्त्री श्रेष्ठले जानकारी दिए। यता सरकारले मृतकका परिवारलाई तत्काल राहत स्वरूप १०–१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। साथै मृतकको शव परिवारलाई बुझाउने र छानबिन समितिले गरेको निर्णय अनुसार थप कारबाही गरिने मन्त्री श्रेष्ठले बताए।