रूसले गर्‍यो युक्रेनमा हालसम्मकै ठुलो क्षेप्यास्त्र आक्रमण



काठमाडौँ। युद्ध सुरू भएयता रूसले युक्रेनमा हालसम्मकै ठूलो क्षेप्यास्त्र आक्रमण गरेको छ।

शुक्रबारदेखि सुरु गरेको आक्रमणमा परी कम्तिमा पनि ३० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आक्रमणबाट किभ, ओडेसा, निप्रोपेत्रोभ्स्क, खार्किभ र ल्भिभमा १६० भन्दा धेरै घाइते भएका छन्।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो आक्रमणमा सबै प्रकारका हतियार प्रयोग गरेको दाबी गरेका छन्। त्यहाँको वायु सेनाले एकैपटक यति धेरै क्षेप्यास्त्र प्रहार भएको कहिल्यै नदेखेको बताएको छ।

वायु सेनाका प्रवक्ताका अनुसार रूसले हाइपरसोनिक, क्रुज र ब्यालेस्टिक क्षेप्यास्त्रको प्रयोग गरेको छ, जसमा एक्स-२२ प्रकारका क्षेप्यास्त्र पनि प्रयोग भएको छ। शुक्रबारको आक्रमणको प्रतिरक्षा गर्न नसके पनि १५८ क्षेप्यास्त्र र ड्रोनमध्ये ११४ वटा खसालेका वायु सेनाले दाबी गरेको छ।