काठमाडौँ। देशका प्रमुख सहरमा सहकारी खोलेर सर्वसाधारणको बचत हिनामिना गर्ने गितेन्द्रबाबु (जीबी)राईको समूहमा उनका तत्कालीन व्यापारिक साझेदार रवि लामिछानेको प्रत्यक्ष भूमिका रहेको खुलासा भएको छ।
ग्यालेक्सी टीभी (गोर्खा मिडिया नेटवर्क प्रा.लिका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेले सहकारीहरूबाट गैरकानुनी रूपमा रकम आएको विषयमा आफू जानकार नभएको दाबी गर्दै आएका थिए। तर, टीभीको सेयर लिन लामिछानेले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीबाट एक करोड रुपैयाँ ल्याएको तथ्य कान्तिपुरले प्राप्त गरेको छ।
उस्तै प्रकृतिका काम गर्ने सर्वसाधारणबीच आर्थिक सहकार्य गर्ने अवधारणाले विकास भएको सहकारीसम्बन्धी कानुनले नाफामूलक कम्पनीमा लगानी गर्न स्पष्ट निषेध गरेको छ । तर, गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई र राष्ट्रिय स्वतन्त्र पार्टीका वर्तमान सभापति तथा सांसदसमेत रहेका लामिछानेको समूहले गैरकानुनी रूपमा सहकारीको पैसा लिएर आफ्नो कम्पनीमा लगानी मात्र गरेनन्, उनीहरूको यो बेथितिले देशभरका आधा दर्जन सहकारीका ५० औं हजार सर्वसाधारणको बिचल्ली भएको छ ।
राई अध्यक्ष र लामिछाने प्रबन्ध निर्देशक रहने गरी २०७७ फागुन ११ मा ग्यालेक्सी टेलिभिजनको घोषणा भएको थियो । टेलिभिजनमा आफूले नगद लगानी नगरेको र काम गरेबापत पसिनाको हिस्सा (स्वेट सेयर) पाएको सार्वजनिक दाबी लामिछानेको छ। तर, गोर्खा मिडिया नेटवर्कमा लामिछानेको तर्फबाट कम्तीमा एक करोड रुपैयाँ जम्मा भएको भौचर नै प्राप्त भएको छ । तर, यो लगानी उनको पसिनाको आम्दानीबाट होइन, सर्वसाधारणले सहकारीमा जम्मा गरेको बचतबाट गरेको खुलेको छ । यो समाचार कान्तिपुर दैनिकले प्रकाशित गरेको छ।