काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शान्ति प्रक्रियाका एक महत्वपूर्ण नेता माधव कुमार नेपाललाई बाहिर राखेर संक्रमणकालिन न्यायका बाँकी काम पूरा गर्ने प्रयासमा छन्।
यसै अनुरूप प्रमुख तीन दल माओवादी केन्द्र, कांग्रेस र एमालेका शीर्ष नेताहरूको सहभागितामा निरन्तर रुपमा प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ। आइतबार र सोमबार बसेको वैठकमा कांग्रेस नेता रमेश लेखकले ब्रिफिङ थरेका थिए।
बैठकमा नेता लेखकले तीन शीर्ष नेतालाई संसद्मा दर्ता भएको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको प्रगति, थप छलफल गर्नुपर्ने विषयहरू लगायतका बारेमा ब्रिफिङ गरेका थिए।
नेता लेखकको प्रस्तुति सुनेपछि तीनै जना नेता यो विषयलाई टुङ्गोमा पुग्नुपर्छ भन्नेमा सहमत भएका थिए। आजको बैठकमा यस विषयमा थप छलफल गरेर निष्कर्षमा पुग्न प्रयास गरिने बताइएको छ।
तीन दलबीच सकारात्मक छलफल
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी विधेयक) मा छलफल गर्न बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठक सकिएको छ। बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेताहरुले छलफल सकारात्मक भएको प्रतिक्रिया दिएका छन्।
माओवादी सशस्त्र युद्धमा समयमा भएका घटनाहरुको सत्य निरुपण, मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको खोजी गरी शान्ति प्रक्रियाको काम टुंगो लगाउने भन्दै सरकारले प्रतिनिधिसभामा बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण आयोग ऐनको संशोधन विधेयक दर्ता गरेको छ ।
तर, उक्त विधेयकमा सरकारले गरेका केही प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले असहमति जनाएका कारण विधेयक प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा अड्किरहेको छ । सोही विधेयकलाई अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेतासहितको बैठक राखेका हुन् ।
एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले सरकार पीडितमैत्री कानुन बनाउन तयार भएपछि सोमबारको छलफल सकारात्मक भएको छ । ‘पीडितमैत्री कानुन बनाउन सरकार तयार भएको छ, त्यो आधारबाट अगाडि बढ्दा हामी सहमतिको नजिक नजिक छौं’ उनले भने । यद्यपि यो विषयमा शीर्ष नेताहरुबीच अझै केही छलफल हुने उनले बताए ।