आरजु राणा कानून विपरीत टिकटकमा



काठमाडौँ। नेपाली कांंग्रेसकी नेता एवं प्रतिनिधिसभा सांसद डा.आर्जु राणा देउवाले नेपाल सरकारद्वारा प्रतिबन्धित सामाजिक सञ्जाल टिकटक चलाइरहेको पाइएको छ।

सांसद राणाले भाइटिकाको दिन (हिजो) सरकारद्वारा प्रतिबन्धित टिकटकमा भाइटिका मनाएको तस्बिर राखिएको पाइएको हो। टिकटकले सामाजिक मर्यादामाथि खलल पुर्याएको, व्यक्तिगत मानमर्दन गर्ने खालका काम हुन थालेपछि कात्तिक २७ गते बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो।

त्यस्तै नेपालका चर्चित कलाकारहरू, राजनीतिक विश्लेषक, सामाजिक अभियान्ता, उद्योगी ब्यापारी लगायतले अवैध रूपमा टिकटक चलाइरहेको पाइन्छ। टिकटक नेपालसहित २७ देशमा प्रतिबन्धित छ।

नेपाल सरकारको नियम नमानेपछि टिकटक प्रतिबन्ध

नेपाल प्रहरीको साइबर ब्युरोले गृह मन्त्रालयमार्फत टिकटकको सिंगापुर कार्यालयसँग आफूले चाहेको बेला व्यक्तिगत प्रोफाइलमा प्रवेश गरी सामग्री हटाउन सक्ने सुविधा माग गरेको तर, त्यसरी अनधिकृत रुपमा प्रवेश गर्न असहमति जनाएपछि सरकारले सो निर्णय गरेको नेपाल प्रहरीको उच्च स्रोतले बताएको छ।

कात्तिक १७ गते टिकटक सिंगापुर कार्यालयका प्रतिनिधि नेपाल भ्रमणमा आएका थिए। ती प्रतिनिधिसँग गृहमन्त्रीसहित सुरक्षा निकायका अधिकारीले छलफल गरेका थिए। झण्डै डेढ घण्टाको छलफलमा पनि परिणाम निस्कन सकेन। सरकारले चाहेको टिकटक भिडियो स्वतः हटाउन सक्ने सुविधा दिन माग गरेको थियो तर उनीहरुले मानेनन्।

प्रहरीले गृहमार्फत सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लील खालका गतिविधि तथा सामग्री राख्ने गरेको भन्दै सरकारले चाहेको सामग्री हटाउन र व्यक्तिलाई कानूनी कारबाहीको दायरामा ल्याउन अनुसन्धानमा सघाउने संरचना बनाउन माग गरेको थियो।

त्यसकै आधारमा टिकटकका प्रतिनिधिहरुसँग नेपाल प्रहरीको साइबर ब्युरोका प्रतिनिधिहरुले कार्यालयमा विशेष छलफलमा गरेका थिए।साइबर अपराध अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूसहितको बैठकले कानून विपरीत देखिएका सामग्री तत्काल हटाउन मिल्ने गरी नेपाललाई विशेष पहुँच दिनेबारे छलफल भएको थियो।

साइबर ब्युरो स्रोतका अनुसार गैर कानूनी गतिविधि रोक्न आफूहरू सकारात्मक रहेको र कुनै पनि देशका प्रतिनिधिलाई स्वतः सामग्री हटाउने वा अन्य विवरणमा पहुँच दिन नसकिने जवाफ दिएका थिए। टिकटकका प्रतिनिधिहरुसँगको छलफलबारे गृहले सार्वजनिक विज्ञप्ति जारी गरेको थियो। टिकटकका प्रतिनिधिहरुसँग सामाजिक सञ्जाललाई व्यवस्थित बनाउनेबारे छलफल भएको भए पनि १० दिनमा सरकारले नेपालमा टिकटकै रोक्ने निर्णय गरिदियो।

मन्त्रिपरिषद्बाट भएको निर्णयको आधार विशिष्ट व्यक्तिको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लील सामग्रीलाई नै देखाइयो। सरकारको निर्णय सार्वजनिक भए लगत्तै अन्य सामाजिक सञ्जालमा सरकारले अभिव्यक्ति स्वतन्त्रताको माध्यममाथि बहाना बनाएर हस्तक्षेप गरेको भन्दै विरोध चलिरहेको छ।

कुन कुन देशमा बन्द छ टिकटक ?

टिकटक बन्द गर्ने नेपाल एक्लो देश होइन। भारत, अष्ट्रेलिया, बेल्जियम, क्यानडा, नर्वे, न्यूजिल्याण्ड, डेनमार्क लगायतका देशले पनि टिकटक बन्द गरेका छन्। उनीहरुले डाटा सुरक्षाको कारण देखाउँदै टिकटकमा प्रतिबन्ध लगाएका हुन्। डेनमार्कले गत मार्चमा आफ्ना कर्मचारीलाई काम गर्ने डिभाइसमा टिकटक चलाउन रोक लगाएको थियो। अस्ट्रेलिया, बेल्जियम र क्यानडाले पनि सबै सरकारी मोबाइल डिभाइसमा टिकटक चलाउन रोक लगाएका छन्।

भारतले सन् २०२० मा नै टिकटक सहितका ५८ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो । चीन भारत सीमामा दुई देशबीचको सेनाबीच तनाव बढेपछि भारतले भारतको सम्प्रभुता, भारतको सुरक्षामा खतरा पैदा भएकाले टिकटक सहितका चिनियाँ एप बन्द गरेको थियो। सन् २०२२ मा अफगानिस्तानमा सरकारमा आए लगत्तै तालिवानले इस्लामिक कानुन विपरीत रहेको भन्दै टिकटक बन्द गरेको थियो।