प्रदेश अस्पताल सुर्खेतमा उपचाररत ४५ जनाको अवस्था सुधारोन्मुख



सुर्खेत। कर्णाली प्रदेश अस्पताल सुर्खेतले जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई गएको भूकम्पमा परी घाइते भएकाहरुको अवस्था सुधारोन्मुख रहेको जनाएको छ।

अस्पतालले विहीबार पत्रकार सम्मेलनको आयोजना गरी घाइतेहरुको स्वास्थ्य अवस्था र उद्धार तथा उपचार व्यवस्थापनमा अस्पतालले गरेका कामबारे जानकारी दिएको हो ।

प्रदेश अस्पतालमा भूकम्पबाट घाइते बनेका ४५ जनाको उपचार भएको छ । अस्पतालले घाइतेहरुलाई वर्गीकरण गरी उपचार गरेको छ । उपचारपछि २४ जनालाई डिस्चार्ज गरिएको, १ जना न्यूरो आइसियू भेन्टिलेटरमा, १ आइसियूमा र १९ जनाको वार्डमा उपचार भइरहेको अस्पताललका निर्देशक प्रा.डाक्टर डम्बर खड्काले जानकारी दिए ।

अस्पतालमा जाजरकोटका भेरी नगरपालिका, बारेकोट गाउँपालिका र नलगाड नगरपालिका, यस्तै कुशे गाउँपालिका, जुनीजाँदे गाउँपालिका, छेडागाड नगरपालिका र रुकुम पश्चिमका चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिका, आठबिसकोट नगरपालिका र दैलेखको गुराँस गाउँपालिकाका घाइतेहरुको उपचार गरिएको छ । तीमध्ये १७ जना पुरुष र १८ जना महिला रहेका छन् । अस्पतालमा ५ वर्ष मूनीका ६ जना बालबालिकाको उपचार भइरहेको भने ५ जनाको शल्यक्रिया गरिएको छ ।

निर्देशक खड्काका अनुसार घाइतेहरुको उपचार तथा व्यवस्थापन गर्न अस्पतालका विपद् व्यवस्थापन समिति सक्रिय भई उपचार टोली चौबिसै घण्टा खटिएको जानकारी दिए । अस्पतालले भूकम्प प्रभावित क्षेत्रमा कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा रबिन केसी, डा सुलभ श्रेष्ठ, हेल्थ असिस्टेन्ट विकास बुढाथोकी, विकास रोकाया र फार्मेसी सुपरभाइजर सुरज लुहारलाई जाजरकोट खटाएको थियो । सुर्खेत विमानस्थल ल्याइएका घाइतेहरुलाई अस्पतालका तीनवटा एम्बुलेन्समार्फत अस्पताल ल्याउने व्यवस्था मिलाइएको थियो ।