काठमाडौँ। फिल्म ‘पशुपति प्रसादुको तेस्रो सिक्वेल घोषणा गरिएको छ।
दसैँको मौका पारेर प्रदर्शनमा आएको फिल्मको दोस्रो सिक्वेल सफल भएपछि निर्माण युनिटले शुक्रबार काठमाडौँमा ‘पशुपति प्रसाद २’को सफलताको सेलिब्रेसन कार्यक्रम गर्दै ‘पशुपति प्रसाद ३’ निर्माणको घोषणा गरेको हो।
दीपेन्द्र के खनालले निर्देशन सम्हाल्ने फिल्ममा खगेन्द्र लामिछानेको लेखन रहनेछ। टुकी आर्ट्सबाट रोजिना सिटौलाले फिल्मको निर्माण गर्नेछिन्। निर्देशक खनालले भने, ‘हामीले ‘पशुपति प्रसाद’मा जुन कथा सुरु गरेका थियौँ, त्यसलाई टुङ्ग्याउनुपर्छ भन्ने हाम्रो निर्कौल हो।’ दोस्रो सिक्वेल भस्मे डनको कथामा आधारित रहेको भए पनि तेस्रो सिक्वेलमा पशुपति प्रसाद पात्रको कथा आउने उनले खुलाए। अर्थात् फिल्ममा खगेन्द्रको पात्रलाई पुनर्स्थापित गराइनेछ।
फिल्ममा पहिलो र दोस्रो शृङ्खलाका को(को कलाकार दोहोरिन्छन् भन्ने अहिले तय नभइसकेको निर्देशक खनालले बताएका छन्। फिल्मलाई आगामी वर्ष छायाङ्कन गरेर त्यही वर्ष रिलिज गर्ने तयारीमा निर्माण टिम रहेको छ। लेखक लामिछानेले तेस्रो सिक्वेललाई तर्कसंगत, न्यायोचित र सुन्दर बनाउन प्रयास गर्ने बताए।