काठमाडौँ। प्रख्यात नायिका रेखा थापाको बहुप्रतिक्षित चलचित्र ‘उपहार’ मा समावेश गीत ‘वाह वाह वाह’ सार्वजनिक गरिएको छ।
शुक्रबार निमार्णाधिन चलचित्र ‘उपहार’ मा समावेश उक्त गीत सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नायिका थापाले हिरो र कलाकारको आयामबारे गम्भिर कुराहरू खुलाएकी छन्।
पछिल्लो समय कलाकारको लहर आएको बताउँदै रेखाले यो परिस्थितिमा आफूहरूले सानैदेखि हेर्दै आएको हिरो मिस भइरहेको दाबी गरिन्। उनले भनिन्,‘अहिलेको जेनेरेसनमा हिरोभन्दा पनि कलाकार स्थापित भइराखेका छन्। जस्तै मुकुन भुसाल भयो, दयाहाङ राईहरु भए । एउटा राम्रो प्रकारको वेभ आएको छ । हिरो मिस भइराख्या छ।’
हिरोहरु पनि आफैं–आफैं झगडा गरेर मिस भइराखेको भन्दै रेखाले कटाक्ष गरिन्। उनले भनिन्, ‘हिरोहरु पनि आफैं–आफैं झगडा गरेर मिस भइराख्या छ । त्यो भीडमा पनि साँच्चिकै हिरोजस्तो देखिने हिरो अहिले आएको मैले महसुस गर्या छु।’
पछिल्लो समय हिरोमाथि कलाकारको दबदबा रहेको रेखाको विश्लेषण छ। ‘अहिले हिरोको परिभाषा परिवर्तन भएको छ। हिरो भन्नेबित्तिकै हामी त बच्चादेखि भुवन केसीहरु, राजेश हमालहरु हेर्दै आएको। हिरो भन्ने वित्तिकै उनीहरुको चित्र आउँथ्यो। बीचमा अर्को जेनेरेसनमा आउँदा अर्कै अर्कै भयो । हिरोको अभाव खड्किएको थियो। कलाकार त छ्यापछ्याप्ती नै भए अहिले, यो राम्रो कुरा हो,’ उनले भनिन्।
कलाकारले पनि फिल्म चल्छ भन्ने पुष्टि पछिल्ला समयका फिल्मले पुष्टि गरेको रेखाको कथन छ। ‘कलाकारले पनि फिल्म चलाउँछ। कलाकारको अभिनयको कारणले पनि फिल्म चल्छ भन्ने पुष्टि भइसक्या छ। हालसालैको फिल्म पनि हेर्न सक्नुहुन्छ। तर त्यसमा हामीले सानोमा हेरिरहेको हिरो मिस भइराख्या थियो,’ उनले भनिन् ।
‘उपहार’ले घरेलु फिल्ममा मिसिङ भइराखेको हिरोलाई परिपूर्ति गर्ने भन्दै रेखाले डेब्यु अभिनेता समर्पणजंग कार्कीको प्रशंसा समेत गरिन्। ‘मलाई जहाँसम्म लाग्छ, अबको उपहारले चाहिं मुकुनजीजस्तो स्थापित, बबाल एक्टिङ गर्ने हिरो कलाकार र समर्पणजस्तो हिरो देखिने हिरो पनि देख्न पाउनुहुन्छ,’ उनले फिल्मबारे भनिन् ।
फागुन २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा रेखा स्वयंको शीर्ष भूमिका छ। यो फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन्। यसमा पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाल, तेज गिरी र समर्पणको समेत अभिनय छ।