काठमाडौँ। मुगुमा एकै परिवारमा चार जनाको हत्या भएको घटना छैटौं दिन भएको छ।
गत शुक्रबार बिहान साढे ९ बजे छायानाथ रारा नगरपालिका ६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षका छोरा मनोज, सात वर्षकी छोरी अप्सरा र एक वर्षका अर्का छोरा रहरको शव भेटिएको थियो।
स्थानीयलाई शंका लागेर ताला फोडेर हेरेपछि घरभित्र उनीहरूको शव फेला परेको थियो। उनीहरूको घाँटी र टाउकोमा चोट थियो। श्रीदेवीको शव भान्सामा र कोठामा बालबालिकाको शव फेला परेको थियो।
यसरी एकै परिवारका चार जनाको हत्या भएको छैटौं दिनसम्म पनि हत्या आरोपी पक्राउ परेका छैनन्। कर्णाली प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय मुगुको टोलीले अनुसन्धान गरिरहेको जनाएको छ।
प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) भीमप्रसाद ढकाल समेत घटनास्थलमा पुगेका छन्। शव कात्तिक १० गते फेला परेको भए पनि घटना गत कात्तिक ८ गते नै भएको हुनुपर्ने अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरू बताउँछन्।
कात्तिक ७ गते दसैंको दिन टीका थाप्न श्रीदेवी र उनका छोराछोरीहरू माइती गएका थिए। मुन्दुबाट दुई घण्टा टाढा रहेको कोटिल्ला गाउँमा उनीहरू गएका थिए। त्यसदिन त्यहाँ बसेर भोलिपल्ट उनीहरू घर फर्किएका थिए।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोपालचन्द्र भट्टराईले पनि घटना कात्तिक ८ गते राति भएको हो कि भन्ने अनुमान गरे।
‘घटना कहिले भएको भन्ने यकिन छैन। ८ गते राति घटना भएको हो कि भन्ने अनुमान गरेका छौं। पर्सिपल्ट स्थानीयलाई शंका लागेर हेरेपछि घटना बाहिरिएको हो,’ उनले भने। यस घटनालाई प्राथमिकताका साथ राखेर अनुसन्धान गरिरहेको उनले बताए। अहिले भन्न मिल्ने अपडेट केही नभए पनि अनुसन्धान तीव्र गतिमा जारी रहेको उनले बताए।
‘शेयर गर्नेगरी अपडेट केही छैन। अनुसन्धान तीव्रताका साथ भइरहेको छ। प्रगतिको दिशामा छौं। केही दिनभित्रमा फाइनल निष्कर्ष तयार गर्न सकिन्छ कि भन्ने आशामा छौं,’ उनले भने, ‘हामीले प्रविधि, विधि, विज्ञान सबै प्रयोग गरेर अनुसन्धान गरिरहेका छौं। हामीसँग भएको सामूहिक हत्याका अब्बल अनुसन्धानकर्ताहरू परिचालित छन्।’
यसबीच प्रहरीले थुप्रैलाई सोधपुछ समेत गरिरहेको छ। प्रहरीले हत्याका कारणहरू पनि के-के हुन सक्छन् भनेर अनुसन्धान गरिरहेको उनले बताए। यद्यपि यही कारण हो भन्न सक्ने अवस्था पनि बनिनसकेको उनी बताउँछन्।
सामूहिक हत्या कसैलाई लुट्ने मनसायबाट भने नभएको पनि एसएसपी भट्टराईले बताए। लुट्ने मनसाय देखिन्न। पैसा-सम्पत्तिको लागि गरिएको हो भन्ने देखिएको छैन। त्यसो नदेखिएकाले कोही भावनात्मक सम्बन्ध भएका व्यक्तिबाट हो कि भन्ने आशंका गरिएको छ,’ एसएसपी भट्टराईले भने, ‘चिनजानकै व्यक्तिहरूबाट हुनसक्ने अनुमान छ। प्रशस्त आम्दानी, फाइदाका लागि गरेको हो भने अपरिचित पनि हुनसक्थ्यो तर त्यो अवस्था छैन।’
अहिलेसम्म प्रदेश प्रहरी र जिल्लाकै प्रहरी अधिकारीहरूले अनुसन्धान गरिरहेको पनि उनले बताए। तर आवश्यकता अनुसार केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीसँग पनि जनशक्ति माग्न सकिने उनले बताए।
केन्द्रीय अनुसन्धान ब्युरोले अहिले पनि प्राविधिक रूपमा अनुसन्धानमा सघाइरहेको प्रवक्ता एवं एसपी नवराज अधिकारीले जानकारी दिए। घटनास्थलमा पुगेको टोलीसँग कोअर्डिनेसन भइरहेको छ। हामीले यहाँबाट प्राविधिक सहयोग गरिरहेका छौं। आवश्यक परे हाम्रो टोली खटिन्छ,’ उनले भने।
अनुसन्धानका लागि घटनास्थलमा तालिम प्राप्त कुकुरसहितको टोली पनि लगिएको थियो। मृतक श्रीदेवीका श्रीमान दीपक वैदेशिक रोजगारीका लागि कतारमा थिए। आफ्नी श्रीमतीसहित परिवारकै हत्या गरेको थाहा पाएपछि उनी नेपाल फर्किइसकेका छन्। उनी गत मंसिरमा कतार गएका थिए।
श्रीदेवीका छोरा मनोज गाउँकै बोर्डिङमा कक्षा तीनमा पढ्थे। ७ वर्षकी छोरी अप्सरा सामुदायिक विद्यालयमा दुई कक्षामा पढ्दै थिइन्। दीपकले श्रीमती र बालबालिकाको शव बुझिसकेका छैनन्। हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने उनको अडान छ। शव अहिले पनि जिल्ला अस्पताल मुगुमा राखिएको छ। पोष्टमर्टम पनि सकिएको छ।