महावै गाउँपालिका स्तरीय रनिङसिल्ड स्थागित



कालिकोट। महावै गाउँपालिकाको पालिका स्तरीय रनिङसिल्ड प्रतियोगिता स्थलमा मंगलबार झडप भएको छ।

त्रिवेणी मावि डिल्लीकोट र कालिका मावि गेलाका पक्षधरहरु बिच झडप भएको हो। झडपमा दुबैतर्फ केही व्यक्तिहरु घाइते भएका छन् भने झगडामा संलग्न भएको भन्दै केहीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

प्रतियोगितालाई २ दिनमै सक्ने उद्देश्यले उद्घाटन समारोहमा केवल १ जना प्रमुख अतिथिलाई मात्र वक्ता राखेर खेललाई प्राथमिकता दिइयपनि चारदिनसम्म समेत रनिङसिल्ड सम्पन्न हुन् नसकी भिडन्तमा परिणत भएको प्रत्यक्षदर्शीले जनाएका छन्।

खेल मैदानमै दुई पक्षबीच भिडन्त भएपछि त्रिवेणी माविका शिक्षक, विद्यार्थी र दर्शक समेतलाइ दिनभर प्रहरी चौकी गेलाले आफ्नो कार्यालयमा राखेर सुरक्षा दिएको बताइएको छ। सदरमुकाम मान्मबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप सुरक्षा फौज पुगेपछि स्थानीय नेता तथा जिम्मेवार जनप्रतिनिधि र बुद्धिजिबिहरुको पहलमा परिस्थिति शान्त भइ त्रिवेणी माविको टोली प्रहरी स्कटिङमा रनिङसिल्ड स्थलदेखि फिर्ता भएको छ।

यसैबीच रनिङसिल्डका बाँकी खेलहरु कहिले सम्पन्न हुने भन्ने अनिश्चित देखिएको छ। सुरक्षाको दृष्टिले र खेल मैदानसमेत उचित नभएको स्थानमा राजनीतिक पूर्वाग्रहले रनिङसिल्ड आयोजना गरिँदा खेलाडी विद्याथीहरूले केही खेल कालिका मावि र केही खेल स्रोत केन्द्र नजिकै निर्माणाधीन फिल्डमा खेल्नुपरेको उक्त समस्या आएको स्थानीयको भनाई छ।