काठमाडौँ। त्रिकोणात्मक टी-२० शृङ्खलाको फाइनल खेल नेपाल र यूएईबीच हुने भएको छ।
बुधबार हङकङले यूएईलाई ६९ रनले हराएसँगै अन्तिम खेल नेपाल र यूएईबीच शुक्रबार कीर्तिपुर क्रीकेट मैदानमा हुने भएको छ। रन रेटका आधारमा हङकङलाई उछिन्दै यूएईले नेपालसँग फाइनल खेल पक्का गरेको छ।
बुधबार मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको हङकङले मार्टिन कोट्जीको ८६ रनको मद्दतमा निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २१२ रन बनाएको थियो।
हङकङले पहिलो विकेट छिट्टै गुमाएको थियो। ओपनर निजाकत खान मात्र ९ रनमा आउट भए, जतिबेला टिमको स्कोर ३३ थियो । तर कोट्जीले दोस्रो विकेटका लागि अंशुमान रथसँग १०६ रनको महत्वपूर्ण साझेदारी गरे। अंशुमान व्यक्तिगत ४१ रनमा आउट भए ।
त्यसपछि पनि कोट्जीले बाबर हायातसँग ४१ रनको अर्को महत्वपूर्ण साझेददारी गरे । अन्तिम १० बल खेल्न बाँकी छँदा कोट्जी ८६ रनमा आउट भए । ५५ बलको सामना गरेका उनले १० चौका र ४ छक्का हानेका थिए ।
हायत ६० रनमा अविजित रहे । २० बलको सामना गरेका उनले ५ चौका र ५ छक्का हानेका थिए। यससँगै उनी टी-२० आईमा सर्वाधिक रन बनाउने हङकङका ब्याटर बने । उनले १२१८ रन बनाएका छन् । यसअघि निजाकत खानले १२०६ रन बनाएका गिए । जवाफमा यूएईले २० ओभरमा ५ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो ।
मैदानमा उत्रिदा यूएईसामू आक्रमण क्रिकेट खेलेर जितको प्रयास गर्ने कि हार्दा पनि रन रेटमा माथि रहँदै फाइनलमा पुग्न चाहिने १३४ रन कटाउने विकल्प थियो । खेलपछि कप्तान मोहम्मद वासिम भन्छन्, सुरुमा हामीले जितका लागि खेलेका थियौं । तर जब दुई विकेट गुमायौं, प्लान बीमा गयौं ।’
यूएईको सुरुवात निकै खराब थियो । मात्र १९ रन जोड्दा महत्वपूर्ण ३ विकेट गुमायो । खालिद शाहले चौथो विकेटका लागि अलीशान शराफूसँग महत्वपूर्ण ५१ रनको साझेदारी गरे । खान ३५ रनमा आउट भए । थप ११ रन जोड्दा शराफू पनि ३० रनमा आउट भए । जतिबेला टिमको स्कोर ८१/५ थियो ।
तर बाजिल हमेद र निलांश केसवानीले छैटौं विकेटका लागि अविजित ६२ रनको साझेदारी गर्दै यूएईलाई फाइनलमा पुर्याए । १७ ओभरसम्म हङकङ खेलकै थियो, यूएईले १०९ रन बनाएको थियो र १८ बलमा २५ भन्दा कम रन दिएको भए फाइनलमा पुग्न सक्थ्यो । तर चार चौकाको मदतमा १४३ रन बनाउन सक्यो । र, ६९ रनको हारका बाबजुद रन रेटमा हङकङलाई उछिन्न सफल भयो ।
समूह चरणका चारमध्ये एकएक खेल जितेका दुबै टिमको समान २/२ अंक रहृयो, तर रन रेटका आधारमा रेटका आधारमा यूएई फाइनलमा पुगेको हो।