काठमाडौँ। इजरायलमा सम्पर्कविहीन बनेका कञ्चनपुरका विपिन जोशीको अवस्था अझै अज्ञात रहेको छ।
गत शनिवारदेखि सम्पर्कविहीन बनेका जोशीको अवस्था अझै पत्ता लाग्न सकेको छैन। इजरायलस्थित नेपाली दूतावासले उनको खोजी कार्य जारी रहेको जनाएको छ । तर, हालसम्म उनको अवस्था अज्ञात नै रहेको दूतावासले जनाएको छ।
उपलब्ध संयन्त्रको प्रयोग गरेर सम्पर्कविहीन जोशीको खोजी कार्य जारी रहेको दूतावासले जनाएको छ। गत शनिबार गाजास्थित हमास समूहको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो। उक्त आक्रमणमा परी ४ जना घाइते भएका थिए। घाइतेमध्ये २ जना डिस्चार्ज भएर १ जना कैलालीका धनबहादुर चौधरी नेपाल फर्किसकेका छन्। एक जना दूतावासको हेरचाहमा छन् भने २ जनाको अस्पतालमा उपचार भइरहेको दूतावासले जनाएको छ।
हमासले पहिलो पटक आक्रमण गर्दा विपिनले नै ग्रिनेड फिर्ता पठाएका थिए। त्यसपछि दोस्रो पटकको आक्रमणमा परी नेपाली विद्यार्थीहरुको ज्यान गएको थियो। उपचाररत हिमाञ्चल कट्टेलले जोशीलाई हमास समूहले बन्धक बनाएर लगेको बताएका छन्।
३४ जना हमासका विद्रोहीहरुले उनलाई बन्धक बनाएर लगेको आफूले देखेको उनको भनाई छ। त्यसैले नेपाल सरकार, इजरायल सरकार, दूतावास लगायतका सरोकारवाला निकायहरुले उनको खोजी त्यही आधारमा गर्न अनुरोध गरेका छन्।