काठमाडौँ। अमेरिकी लगानी बैंक जेपी मोर्गन चेजका प्रमुख कार्यकारी अधिकृत जेमी डिमनले विश्वले दशकौँयताकै सबैभन्दा खतरनाक समयको सामना गरिरहेको बताइएका छन्।
लगानीकर्ताहरूलाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन्। भू-राजनीतिक तनावका कारण विश्व अर्थतन्त्रमा बढ्दो जोखिमले उनलाई चिन्तित पारेको छ । युक्रेन र इजरायल सङ्कटले ऊर्जा र खाद्यान्नको भाउ आकासिन सक्ने अनि यसको निशानामा विश्व व्यापार आउन सक्ने चेतावनी पनि उनले दिएका छन् ।
प्यालेस्टिन सशस्त्र समूह हमासको अप्रत्याशित आक्रमण यता इजरायल र गाजामा हजारौँ मानिसले ज्यान गुमाइसकेका छन् । द्वन्द्वले अनिश्चय बढाएकोले ब्याजदर बढ्ने, लामो समयसम्म महँगी उच्च स्तरमै रहने अवस्थाका लागि तयार रहन पनि उनले लगानीकर्ताहरूलाई भनेका छन् ।
युक्रेनी युद्ध जारी रहँदा गएको हप्ता इजरायलमाथिको आक्रमणले इन्धन र खाद्य बजार, विश्व व्यापार र भूराजनीतिक सम्बन्धमा दूरगामी असर पार्ने चिन्ता पनि डिमनले व्यक्त गरेका छन् । ‘यो विश्वले दशकौँयता देखेको सबैभन्दा भयानक समय हुन सक्छ,’ उनले भने । युद्धको चपेटामा अर्थतन्त्र पनि आउने हो कि भन्ने चिन्ता सिटी ग्रुप लगायत अन्य अमेरिकी बैंकले पनि देखाएका थिए ।