अहमदाबाद। एकदिवसीय विश्वकपमा पाकिस्तानमाथि आफ्नो दबदबा कायम राख्दै भारतले शनिबारको खेलमा शानदार जीत हासिल गरेको छ।
अहमदाबादमा भएको खेलमा भारत ७ विकेटले विजयी भएको हो। पाकिस्तानले प्रस्तुत गरेको १ सय ९२ रनको लक्ष्य भारतले ११७ बल बाँकी छँदै पछ्यायो।
भारतले यसअघिका सातवटा विश्वकपमा पाकिस्तानलाई हराएको थियो । आजको जीतसँगै भारतले यो संख्या ८ पुर्याएको छ। यी दुई राष्ट्रबिच विश्वकपमा सबैभन्दा पहिले सन् १९९२ मा पहिलो खेल खेलिएको थियो । त्यो खेलमा भारत ४३ रनले विजयी भएको थियो। सन् १९९६ को विश्वकपमा भारतले पाकिस्तानलाई ३९ रनले हराएको थियो । त्यसपछि सन् १९९९ को विश्वकपमा भारतले पाकिस्तानलाई ४७ रनले पराजित गरेको थियो।
यसैगरी सन् २००३ को विश्वकपमा पाकिस्तानी टोली भारतसँग ६ विकेटले हारेको थियो। सन् २०११ को विश्वकपमा भारतले पाकिस्तानलाई २९ रनले हराएको थियो । सन् २०१५ को विश्वकपमा भारतले पाकिस्तानलाई ७६ रनले हराएको थियो । अन्तिम पटक सन् २०१९ को विश्वकपमा पनि भारतले आफ्नो चिर प्रतिद्वन्द्वी पाकिस्तानमाथि ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा ८९ रनको विजय प्राप्त गरेको थियो।
ीबहmष् कगलचष्कभ दबलप
शनिबार भएको खेलमा भारतको जीतमा कप्तान रोहित शार्माले सर्वाधिक ८६ रनको योगदान दिए । उनले ६३ बलमा ६ चौका र ६ छक्का हिर्काए । त्यस्तै श्रेयस ऐयरले नटआउट रहँदै ५३ रन बनाए । केएल राहुलले १९ तथा शुभमन गिल र विराट कोहलीले १६–१६ रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२।५ ओभरमा सबै विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ५० रन बनाए । उनलाई मोहम्मद रिजवानले ४९ रन बनाउँदै राम्रो साथ दिए ।
कुनै समय २ विकेट गुमाएर १५५ रन बनाएर पाकिस्तान मजबुत स्थितिमा रहेको थियो। तर, कप्तान बाबर आउट भएपछि पाकिस्तानको नाटकीय पतन सुरु भयो । त्यसपछिका ब्याट्सम्यानमा हसन अलीले १२ रन बनाउनबाहेक अन्यले ठुलो यागेदान दिन सकेनन्।
त्यसअघि ओपनर अब्दुल्लाह सफिकले २० तथा इमाम उल हकले ३६ रन बनाएका थिए। भारतका लागि जसप्रित बुमराह, मोहम्मद सिराज, हार्दिक पाण्ड्या, कुलदीप यादव र रवीन्द्र जडेजाले २–२ विकेट लिए।