अनेरास्ववियूले टिकापुरमा गर्यो दिवंगत विद्यार्थीको सम्झनामा शोकसभा



कैलाली। नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले अध्ययनका क्रममा इजरायलमा गइ त्यहाँको विद्रोही समुह हमासको आक्रमणमा परि ज्यान गुमाएका विद्यार्थीको सम्झनामा कैलालीको टिकापुर बहुमुखी क्याम्पसमा शोकसभा सम्पन्न गरेको छ ।

शोकसभामा बोल्नुहुँदै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दिवंगत विद्यार्थीहरु प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्नुभयो । प्यालेस्टाइनी विद्रोही समुह हमासको आक्रमणमा परि १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो । शोकसभामा बोल्नुहुँदै पूर्व प्रधानमन्त्री नेपालले सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गतको “लर्न एन्ड अर्न प्रोग्राम” अनुसार त्यहाँ अध्ययन गर्न गएका विद्यार्थीहरुको दु:खद निधन प्रति आफ्नो पार्टी अत्यन्त दुखी भएको र अब यसरी विदेश जाने परिस्थितिको अन्त्य गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

शोकसभाको अध्यक्षता गर्नुभएकी अनेरास्ववियूकी अध्यक्ष आरती लामाले सरकारले कमाउँदै पढ्ने वातावरण नेपालमै बनाउन नसकेकोले यस्तो अवस्था आएको र आगामी दिनमा यस्तो परिस्थितिको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

शोकसभामा शोक मन्तव्य राख्दै सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय प्रमुख शुशील न्यौपानेले ज्यान गुमाएका १० जनाको परिवारलाई राहत उपलब्ध गराउने कुरामा सहयोग गर्न पूर्व प्रधानमन्त्री नेपाललाई आग्रह गर्नुभयो । न्यौपानेले हमास विद्रोहहरुको नियन्त्रणमा रहेको भनिएका नेपाली विद्यार्थी विपिन जोशीको सकुशल उद्दार गर्न सरकारले कुटनैतिक भुमिका बढाउनु पर्ने बताउनु भयो ।

आफ्नो मातृ पार्टीको मेची – महाकाली समाजवादी जागरण अभियानमा सहभागी अनेरास्ववियूले अभियानकै क्रममा टिकापुर बहुमुखी क्याम्पसमा शोकसभा आयोजना गरेको केन्द्रीय कार्यालय सदस्य नरेश न्यौपानेले जानकारी दिए । दिवंगत विद्यार्थीको सम्झनामा घटना बाहिरिना साथै अनेरास्ववियू शोक विज्ञप्ति जारी गरेको थियो ।