हमास निमिट्यान्न पार्ने इजरायली प्रतिवद्धता पूरा होला ?



काठमाडौँ। १८ वर्षअघि गाजा स्ट्रिपबाट पछि हटेको इजरायलले त्यहाँ दुई पटक हमला गरिसकेको छ। कास्ट लिड नाम दिएर उसले पहिलो हमला गरेको थियो।

सन् २००९ मा १५ दिन स्थलगत रुपमा इजरायलले युद्ध गरेको थियो । यस्तै सन् २०१४ मा ‘प्रोटेक्टिभ एज’ अपरेशन १९ दिनसम्म चलाएको थियो। हमासले इजरायल परिधिमा छिरेर बर्बरतापूर्वक हमला गरेपछि इजरायले अहिले तेस्रो पटक गाजामा हमला गरिरहेको छ। प्यालेस्टाइन सशस्त्र समूह हमास विगतको भन्दा बृहत र बर्बर देखिएको छ ।

आफ्ना नागरिक मरेपछि आक्रोशित इजरायलले हवाइ हमला, मिसाइल तथा जलसेनाबाट गाजामा हमला गरिरहेको छ । विगतमा गाजामा हमला गर्दा इजरायलले चेतावनी दिने गर्थ्यो । यसपटक विना चेतावनी धमाधम हमला गरिरहेको छ । विगतमा हमलाअघि उसले आकाशमा लडाकु विमान पठाएर साइरन मार्फत हमलाको संकेत दिन्थ्यो । तर उसले अहिले विना कुनै चेतावनी गाजामा अन्धाधुन्ध आक्रमण गर्दा ९०० प्यालेस्टाइनको ज्यान गएको छ । मारिएकामध्ये अधिकांश निहत्था नागरिक छन् ।

इजरायली राजनीतिक नेताहरुले स्थलगत रुपमा समेत हमलाका लागि सेना पठाइसकेका छन् । यसको उद्देश्य तस्करीका लागि प्रयोग हुने सुरुङ आफ्नो नियन्त्रणमा लिनु हो । हातहतियार तथा खाद्यान्न तस्करीका लागि प्रयोग हुने सुरुङ कब्जा गर्ने इजरायली सेनाको रणनीति छ ।

यस्तै, इजरायली सेनाले सहरी युद्ध गर्न खोजेको छैन । उसको अर्को रणनीति भनेको २० लाख मानिस रहेको गाजा स्ट्रिप नियन्त्रणमा लिनु हो । हमासको अत्याचारलाई ध्यानमा राख्दा यी रणनीति पनि अपर्याप्त रहेको इजरायली सेना बताउँछ । यसले हमासलाई निमिट्यान्न पार्नका लागि अन्य विषयमा ध्यान दिनुपर्ने बताएको छ ।

इजरायली सेनाका प्रवक्ता रिचर्ड हेच भन्छन्, ‘परिस्थिति हामीले सोचेको भन्दा जटिल र पृथक छ । हामी हमासविरुद्ध निकै आक्रोशित छौं । हमासलाई निमिट्यान्न पार्नका लागि हामी सकेजति उपाय अवलम्बन गर्नेछौँ । परम्परागत मान्यता र शैली अबको सैन्य रणनीति हुने छैन । इजरायली नेताहरुले हमासलाई निमिट्यान्न पार्ने कसम खाइसेका छन् ।’

संयुक्त राष्ट्रसंघका लागि इजरायली प्रतिनिधि जिल्ड आर्डेनले पनि हमास विस्तार हुनै नसक्ने गरी ध्वस्त बनाउनुपर्ने आवश्यकता रहेको बताउँछन् । ‘हिंसात्मक बाटो समाउनका लागि हमासलाई हिम्मत नै आउन नदिने गरी कदम चाल्नु आजको आवश्यकता हो । हिंसा मच्चाउने हमासको सम्पूर्ण शक्ति र पूर्वाधार ध्वस्त बनाउनैपर्छ ताकी आगामी दिनमा कोहीमाथि बर्बर हमला नहोस् ।’

कफर अज्जामा हमासलाई मार्ने नाममा इजरायलले भीषण नरसंहार मच्चाएको छ । तथापि गाजाका बासिन्दामा कुनैपनि त्रास नरहेको एक इजरायली सेनाका अधिकारीले दाबी गरेका छन् । ‘हमास आइसआइएसझैँ बनेको पाइयो । गाजाका बासिन्दाहरु त्रसित हुनुभन्दा झनै खुशी थिए । मानवीय आवरणका जनावरहरुप्रति कुनै दया राखिनेछैन’, ती अधिकारीले भने ।

गाजाबाट हमासलाई निमिट्यान्न पार्ने काम कठिन रहेको डेनियल बेम्यान बताउँछन् । परोपकार, विद्यालय तथा मस्जिद निर्माणमा हमासले सघाएकाले उसप्रति मानिसहरुको छुट्टै आकर्षण रहेको उनको बुझाइ छ ।

इजरायलले विगतमा पनि गाजा छोडेकाले यसपटक पनि छोड्ने उनको विश्लेषण छ । ‘हमासलाई गाजाबाट निमिट्यान्न पार्न इजरायलका निम्ति सम्भव छैन । गाजाको पूर्ण कब्जा असम्भव मात्रै होइन महंगो पनि छ । त्यसैले सन् २००५ मा इजरायल त्यहाँबाट पछि हट्यो । वेस्ट बैंकमा पनि उसले हमास विरुद्ध प्यालेस्टाइन अधिकारीहरुको प्रयोग गर्‍यो । उसको त्यस रणनीति पनि सफल भएन’, बेम्यानले भने, ‘गाजामा सकेसम्म कम क्षति गराउनु इजरायली राजनीतिज्ञको प्राथामिकता हुनुपर्छ अन्यथत त्यहाँ इजरायलीहरुकै क्षति बढ्नेछ ।’

इजरायलले त्यहाँ कास्ट लिडको विकल्प सोच्नुपर्ने हुन्छ । तर इजरायलको रक्षा बल त्यसका लागि तयार भएको छैन । अहिलेको अवस्थामा उसले ३ लाख ६० हजार जनशक्ति परिचालन गरेको छ । सन् १९७३ मा भएको योम किपुर युद्धमा भन्दा बढी जनसशक्ति हाल परिचालन गरिएको हो ।

यसमा परिचालितमध्ये अधिकांश लडाकु होइनन् । उनीहरु खुफिया, हवाइ बल तथा ढुवानीमा केन्द्रित जनशक्ति हुन् । इजारयली रक्षा बलले त्यहाँ दुई बख्तरबन्द डिभिजन र एउटा हवाइ डिभिजन परिचालनसहित पाँचवटा ब्रिगेड पठाएको छ । कतिपय युनिट अझैपनि हतियारको प्रतीक्षामा रहेका छन् । कतिपय हमाससँगको भिडन्तमा कमजोर भएका छन् ।

गाजामा ठूलै हमला गर्ने हो भने इजरायलले दुईवटा बख्तरबन्द सहितका ब्रिगेडलाई ६ किलोमिटर पश्चिमको तटमा वा मध्ये सहर देयर अल बलहातर्फ पठाउनुपर्ने हुन्छ । यस्तै तीनवटा ब्रिगेड उत्तरी इलाका र दुई दक्षिणी इलाकामा तैनाथ हुनुपर्नेछ ।

यसरी तैनाथ हुने सेनाको लक्ष्य हमास र प्यालेस्टाइन जिहाद हुनेछन् । तर यो तहको हमला गर्दा धेरै निहत्था मानिसहरु ठूलै संख्यामा हताहती हुनेछन् । गाजामा हमासले सय किलोमिटरसम्मको सुरुङ बनाएको छ । ती सुरुङमा हातहतियार रहेकाले त्यसलाई ध्वस्त पार्ने इजरायली सेनाको लक्ष्य हो । तर उसले सकेसम्म शहरी युद्ध टार्न खोजेको छ ।

सन् २०१४ मा हमासले सानो तर भारी रुपमा हतियार सुसज्जित लडाकु समूह तैनाथ गरेको थियो । उनीहरुसँग अत्याधुनिक मेसिन गन, अत्याधुनिक क्षेप्यास्त्र तथा ग्रिनेड थिए । उनीहरुले इजरायली पक्षलाई झुक्याउनका निम्ति इजरायली रक्षा बलको पोशाक समेत लगाएका थिए । हमासको युद्धकलाबारे अनुसन्धान गरेको रान्ड कर्पोरेसनले भनेको छ, ‘इजरायली सेनाविरुद्ध लड्नका लागि हमासका लडाकुहरु निकै प्रतिबद्ध मात्रै छैनन् उनीहरुसँग युद्धका लागि आवश्यक सबै कला छन् । इजरायली सेनासँग विना त्रास उनीहरुले कुशलतापूर्वक युद्ध लडे ।’

पटक(पटकको युद्धका कारण हमासका लडाकुहरु निकै तिखारिएका छन् । यता इजरायली पक्ष पनि उत्तिकै निखारिएका छन् ।इजरायललाई ठूलो हमलाका लागि कठिन रहेको बेम्यान बताउँछन् । ‘ठूलै हमला गर्दा सेना जम्मा हुन समय लाग्छ । धेरै जनशक्ति हताहती हुने सम्भावना उत्तिकै रहन्छ । यदि हिज्जबुल्लाहले साथ दिएको अवस्थामा इजरायली सेना ठूलै संख्यामा लेबनानतर्फको सीमामा केन्द्रित हुनुपर्ने हुन्छ’, उनले भने ।

गाजामा ठूलै हमला गर्दा बन्धक बनेका १०० इजरायली तथा विदेशी नागरिकको ज्यान जाने जोखिम पनि उत्तिकै छ । यदि इजरायलले प्यालेस्टाइन नागरिकका भवनमा आक्रमण गरेको खण्डमा हरेकलाई मार्दै जाने चेतावनी हमासले दिएको छ ।

त्यसैले इजरालयका वित्तिय मन्त्री बेजालेल स्मोरचले सेनालाई संवेदनशील परिस्थिति ख्याल राख्दै चलाखीपूर्ण कदम चाल्न भनेका छन् । रक्षा बलले बन्धक छुटाउनका लागि छुट्टै संयन्त्र परिचालन गर्ने तयारी गरेको छ ।

१० अक्टोबारमा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई इजरायललाइ सम्पूर्ण सहयोग गर्ने भन्दै अत्याधुनिक हतियार समेत त्यहाँ पठाए । यता बेलायत, फ्रान्स, जर्मनी र इटालीका नेताहरुले पनि सहयोगको प्रस्ताव गरेका छन् । यो युद्धले अरबसँगको सम्बन्ध विस्तारमा पर्ने प्रभावबारे विभिन्न आँकलन समेत भइरहेका छन् । तर अहिले इजरायली नेताहरुको प्राथामिकता गाजाको कब्जा र हमासको अन्त्य रहेको छ । तर हमासको अन्त्य सहज छैन । जसै इजरायली रक्षा बलले गाजा छोड्नेछ, त्यही मौकामा बंकरबाट बाहिरिँदै हमासका लडाकु तैनाथ हुनेछन् । यदि इजरायलले हमासलाई निमिट्यान्न बनाए पनि त्यस इलाका हेर्ने जिम्मेवारी कसलाई दिने भन्ने विषय पनि प्रमुख छ ।

आफ्नो लामो राजनीतिक कालखण्डमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू सैन्य बल परिचालनमा निकै सजग छन् । तर अक्टोबर ७ को भयंकर असर त्यहाँ परेको छ । ‘जतिसुकै संकट र कष्टको सामना गरेर भएपनि जेसुकै मुल्यमा हमासलाइ निमिट्यान्न पार्ने प्रतिबद्धता इजरायलको छ’, विश्लेषक नटन स्याच्स भन्छन्, ‘ ९र११ को आक्रमणपछि अमेरिका जसरी फरक भयो त्यसैगरी इजरायल अहिले फरक स्थितिमा छ । अमेरिकाले अलकायदालाई निमिट्यान्न पारेझैँ इजरायलले हमासलाई निमिट्यान्न पार्ने लक्ष्य राखेको छ।’