बलात्कार गरेको आरोपमा एक युवक पक्राउ



सुर्खेत। चौध वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

गत साताको शुक्रबार दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–३, पानीखोलाका २५ वर्षीय भक्तिराम कँडेललाई जिल्ला प्रहरी कार्यालय, सुर्खेतले पक्राउ गरेको हो।

भक्तिरामविरूद्ध बालिकाका अभिभावकले जाहेरी दिएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) लक्ष्मणबहादुर शाहीका अनुसार गत भदौ ३० गते बालिकालाई अपहरण शैलीमा काँक्रेबिहारको जंगलमा पुर्‍याएर मार्ने धम्की दिई बलात्कार गरेको भन्ने जाहेरी परेको छ।

उनले भने, ‘घटना भएकै दिन बालिका र अभिभावक आएर महिला सेलमा पुगेका रहेछन्। त्यहाँ उनीहरू प्रष्ट खुल्न नसकेपछि सेलबाट जाहेरी ल्याउन भनिएको रहेछ,’ डिएसपी शाहीले भने, ‘असोज २ गतेमात्र खुलेर जाहेरी दिनुभएको हो। उहाँहरू आफूले पनि पीडक खोज्ने प्रयास गर्नुभएछ।’

बालिकाले प्रहरीलाई भनेको विवरणअनुसार उनी बस्ने कोठा नजिकै एकाबिहानै अटोरिक्सा रोकेर अपहरण शैलीमा त्यसमा चढाइ काँक्रेबिहार जंगलमा पुर्‍याएर भक्तिरामले बलात्कार गरेका हुन्।

बालिका वीरेन्द्रनगर उपत्यकाको पूर्वी छेउमा भाडाको कोठामा आमाका साथ बस्छिन्। उनी नजिकैको एउटा निजी विद्यालयमा पढ्छिन्। भदौ २९ गते विद्यालयमा राष्ट्रिय बाल दिवसको कार्यक्रम थियो। बिहान १० बजे सुरू हुने भनिएको कार्यक्रमको तयारीका लागि विद्यालयले केही विद्यार्थीलाई अलिक चाँडै बोलाएको थियो।

ती बालिका ‘६४ वीरेन्द्रनगर’ ९ बजे नै पुगिसकेकी थिइन्। तीन जना साथीहरू विद्यालयको गेटबाहिर उभिएर गफ गर्दै गरेका बेला एक जना युवक आए। ती युवकले ‘बहिनी’ भनेर सम्बोधन गर्दै ‘एकछिन यता आऊ त’ भनेर बोलाए।

तीनै जना उनीतिर गए। युवकले आफू नेपाली सेनाको सैनिक रहेको बताए। नाम भरत कँडेल हो भने। ‘६४ वीरेन्द्रनगर’ लाई ५० रुपैयाँ दिएर रिचार्ज कार्ड किनेर ल्याइदिन अह्राए। बालिका अलमलमा परिन्। दाइले भनेको मान्नुपर्छ भनेर पठाए। बालिका नजिकका तीनवटा पसलमा गइन्, सबै पसल बन्द रहेछन्।

डिएसपी शाहीले भने, ‘सबै पसल बन्द भएकाले बालिकाले यहाँ नजिक अर्को पसल छैन भनेर पैसा फिर्ता गरिन्। रिचार्ज कार्ड लिन भनेर अलि टाढा गएकी भए त्यसै दिन अपहरण गर्ने योजना बनाएको रहेछ। उनले म टाढा जाँदिनँ भनेर पैसा फिर्ता दिइछन्।’

त्यसपछि भक्तिरामले बालिकाको मोबाइल नम्बर लिने जुक्ति निकाले। उनले आफ्नो मोबाइल फोन हरायो भनेर फोन गर्न बालिकासँग मोबाइल मागे। बालिकासँग कीप्याडवाला मोबाइल थियो। त्यसैबाट आफ्नो नम्बर डायल गरे। गोजीमै भएको मोबाइलमा घण्टी बजेपछि ‘मेरै गोजीमा रहेछ’ भन्दै बालिकाको फोन फिर्ता गरे।

नम्बर लिएपछि भक्तिरामले ‘६४ वीरेन्द्रनगर’ लाई पछ्याउन थाले। उनी बस्ने कोठा पत्ता लगाए। फोन नम्बर लिएकै बेलुकीपख बालिका तरकारी किन्न गएको मौका पारेर फोन गरे। डिएसपी शाहीले घटना विवरण बताए, ‘फोन गरेर मेरो बहिनी छैन, म तिमीलाई बहिनी बनाउँछु, एक छिन भेट्छु भनेछ। बालिकाले अस्वीकार गर्दै फोन काटेकी रहिछन्।’

भोलिपल्ट भदौ ३० गते बिहान विद्यालय जानुअघि बालिका आफ्नो कोठा नजिकै एउटा पसलमा पेन्सिल र इरेजर किन्न गइन्। अघिल्लो दिन बिहानैदेखि पछ्याइरहेका भक्तिराम मौका कुरेर नजिकै बसेका रहेछन्। तत्कालै बालिकालाई भेटेर ‘हिजो मलाई भेट्न आइनौ, आज तिमीसँग कुरा गर्नु छ’ भनेछन्।

बालिकाले इन्कार गरिन् तर भक्तिरामले हात च्याप्प समातेर नजिकै रोकिराखेको एउटा अटोरिक्सामा जबर्जस्ती चढाएर कुदाउन लगाए। उनले बालिकाको मोबाइल खोसेर आफ्नो गोजीमा हाले। केही बोल्न नदिई सुर्खेत बसपार्कको तल्लो गल्लीमा रहेको एउटा होटल नजिकै पुर्‍याएर अटोरिक्सा रोकियो।

बालिका विद्यालय पोशाक लगाएर स्कुल जान तयार थिइनन्। भक्तिरामले ‘नयाँ लुगा किनिदिन्छु, तिमी लुगा फेर’ भने। बालिका ‘किन लुगा फर्ने? फेर्दिनँ’ भनेर चर्को स्वरमा कराइन्।

होटलको काउन्टरबाट हेरिरहेका व्यक्तिले नजिकमा आएर के समस्या हो भनेर सोधे। भक्तिराम ती व्यक्तिसँग कुरा गर्न लागेको मौकामा बालिका भागिन्। त्यहाँबाट भागेर पनि उनी बच्न सकिनन्। करिब आधा घण्टापछि भक्तिरामले ती बालिकालाई फेला पारे।

‘६४ वीरेन्द्रनगर (बालिका) लाई फेला पारेर फेरि अर्को होटलमा लगेछ र त्यहाँ कपडा फेर्न बाध्य बनाएछ। अनि अटोरिक्सामा राखेर काँक्रेबिहार जाने मुख्य बाटो छाडेर फरक बाटोबाट जंगलमा पुर्‍याएको रहेछ,’ डिएसपी शाहीले भने, ‘जंगलछेउ पुग्नेबित्तिकै अटो रिक्सा फिर्ता गराएर बालिकालाई तानेर जंगलमा लिएछ र मार्छु भनेर धम्क्याउँदै बलात्कार गरेछ।’ फुत्किन खोज्दा बालिकाको हातमा घाउ भएको उनले बताए।

उनका अनुसार बलात्कारपछि बालिका फुत्किएर भाग्न सफल भइन्। भाग्दै जंगल नजिकको एउटा पसलमा पुगिन्। पसलेलाई आफू अपहरणमा परेको र भागेर उम्केको भनिन्। एउटा अटोरिक्सा मिलाइदिन आग्रह गरिन्। पसलेले अटोरिक्सा रोकिदिए। त्यसमै चढेर उनी कोठामा पुगिन्।

डिएसपी शाहीले भने, ‘जाहेरीमा लेखिए अनुसार भक्तिरामले बिहान करिब ८ बजेतिर ती बालिकालाई फेला पारेर जबर्जस्ती लिएको रहेछ। करिब साढे ९ बजेतिर बलात्कार गरेको रहेछ।’

बालिकाका बुबा रोजगारीको सिलसिलामा देशबाहिर छन्। सुर्खेतमा डेरा लिएर आमाछोरी सँगै बस्छन्। आमाले छोरी पीडकबाट उम्केर आएपछिमात्रै घटना थाहा पाइन्। जाहेरी २ गते नै आए पनि पीडकको हुलिया नभएकाले ५ गतेमात्र पक्राउ गर्न सकेको डिएसपी शाहीले बताए।

‘जाहेरी आएपछि हामीले पीडितका आफन्तलाई बोलायौं। उनीहरूले ठेगाना अन्दाज गरेका रहेछन्,’ उनले भने, ‘दैलेख प्रहरीसँग समन्वय गरेर हामी पीडकका आफन्तसम्म पुगेपछि भक्तिराम नै पीडक हो भन्ने पक्का भयो।’

ठेगाना र नाम पत्ता लागेपछि प्रहरीले ५ गते नै भक्तिरामकी दिदीलाई बोलाएर सोधपुछ गरेको थियो। दिदीले आफ्नो भाइ भए पनि सम्पर्कमा नरहेको बताइन्। भक्तिरामको मोबाइल लोकेसन हेर्दा सुर्खेत बसपार्क आसपास देखिएको थियो। बसपार्क र आसपासका थुप्रै होटलमा खोज्दा पनि फेला नपरेपछि दिदीको मोबाइल फोन नियन्त्रणमा लिएर टिकटक हेर्‍यो। भक्तिरामले चलाउने टिकटक अकाउन्ट फेला पर्‍यो।

डिएसपी शाहीले भने, ‘भक्तिरामले पोस्ट गरेका टिकटक भिडिओ भेटियो। त्यो भिडिओको पृष्ठभूमिमा अशोका होटल थियो। दिदीले पनि भाइ होटलमा काम गर्छ तर होटलको थाहा छैन भनेकी थिइन्। त्यसै दिन (५ गते) बेलुका दैलेख रोडचोकैमा रहेको अशोका होटलबाटै उसलाई पक्राउ गर्‍यौँ।’

भक्तिरामले सबैलाई आफ्नो भरत हो भन्ने गरेका रहेछन्। जन्मदर्ता मगाएर हेर्दा वास्तविक नाम भक्तिराम हो भन्ने थाहा भएको डिएसपी शाहीले बताए। प्रहरीले भक्तिरामलाई यही आइतबार अदालतमा पेश गरेर अनुसन्धानका लागि म्याद लिएको छ। प्रहरीले अटोरिक्सा चलाउने चालकको पनि खोजी गरिरहेको छ तर नम्बर थाहा नभएकाले फेला पार्न सकेको छैन।

एक वर्षअघि पनि करणी मुद्दा

भक्तिरामविरूद्ध यसअघि पनि सुर्खेत प्रहरीमा जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता भएको छ। २०७९ पुस ९ गते सुर्खेतकै १९ वर्षीया एक किशोरीले जाहेरी दिएको डिएसपी शाहीले बताए।

त्यो जाहेरीमा भक्तिराम पक्राउ पर्नबाट जोगिएका थिए। अहिले उक्त जाहेरीका पीडितलाई पनि प्रहरीले सोधपुछ गरेको छ। सुर्खेतकै एक किशोरीले बिहे गर्ने प्रलोभनमा डरत्रास देखाएर सुर्खेत बसपार्क नजिकको होटलमा पटकपटक करणी गरेको भन्दै जाहेरी दिएकी थिइन्।

घटना अनुसन्धानका लागि प्रहरीले ती किशोरीलाई ‘६४ वीरेन्द्रनगर (क २७)’ नाम दिएको छ। सुर्खेत प्रहरीले भक्तिरामविरूद्ध दैलेखमा पनि कुनै जाहेरी छ कि भनेर जानकारी मागेको छ।  साभारः सेतोपार्टी