सोसेकको संरक्षणमा रहेकी महिला मृत अवस्थामा फेला



कालिकोट। सामाजिक संस्था सोसेकको संरक्षणमा रहेकी एक २५ वर्षीया घरेलु हिंसापीडित महिला मृत अवस्थामा फेला परेकी छन्।

जिल्ला प्रहरी कार्यालय कालीकोटले भदौ २४ मा पत्र लेखेर सान्नीत्रिवेणी–१, लुसा माइतीघर भएकी गीताकुमारी जैसीलाई सोसेकको सेल्टरमा पठाएको थियो।जैसीलाई आइतबार बिहान ९ बजे सेल्टरको शौचालयमा झुण्डिएको अवस्थामा फेला पारिएको कालीकोटका प्रहरी प्रमुख अर्जुन केसीले बताए। डीएसपी केसीका अनुसार घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

जैसीमाथि उनका श्रीमान दानबहादुर शाही लगायत पहिलो श्रीमती रञ्जनासहित घरपरिवारका सदस्यले शारीरिक तथा मानसिक हिंसा गर्ने गरेको बताउँदै उनले अदालतमा अंश र सम्बन्ध विच्छेदको मुद्दा हालेकी थिइन्।

यसबीचमा मान्मा बजारमा एक्लै डेरा गरी बसेकी जैसी भदौ २२ गते एकाएक हराएपछि श्रीमान पक्षले गायब बनाएको आरोपसमेत लागेको थियो। त्यसको भोलिपल्ट उनी नेपालगञ्जमा भेटिएकी थिइन्। नेपालगञ्जमा फेला परेसँगै उनले श्रीमान पक्षले उल्टै आफूविरुद्ध जाहेरी दिएपछि हताष भएर कोठा छाडेर हिँडेको बताएकी थिइन्। आफूले न्यायका लागि गरेको पहलमा कसैको साथ नपाएपछि बेपत्ता हुन खोजेको उनको भनाइ थियो।

जैसी बेपत्ता भएपछि उनको खोजीका लागि पहलको माग गर्दै प्रहरी कार्यालय घेर्न पुगेका उनका १० जना आफन्तलाई प्रहरीले अराजकता मचाएको भन्दै नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिइएकामध्ये उनको मुद्दाका साक्षीसमेत रहेका तीन जना अझै प्रहरीको हिरासतमा छन्। पक्राउ परेकामध्ये नमराज सुवेदी, गंगाराम जैसी र अमृता न्यौपानेलाई उपद्रवमा मुद्दा चलाएर प्रहरीले थुनामा राखेको छ।

यस्तै, एक महिनाअघि गीता र उनका छोरालाई मारिदिने धम्की दिएका श्रीमान दानबहादुरलाई प्रहरीले असोज ३ गते हिरासतमुक्त गरेको थियो। गत वर्ष गीताको बुवाको लुसा भीरमा लडेर मृत्यु भए पनि उक्त घटना आफूले मान्छे लगाएर गराएको दानबहादुरले बताएसँगै उनी पक्राउ परेका थिए।