प्रहरी सरुवा-बढुवामा अवाञ्छित चलखेल शून्यमा झारिएको छ: गृहमन्त्री श्रेष्ठ



काठमाडौँ। गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी सरुवा बढुवामा चलखेल शून्यमा झारिएको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा अन्तरगत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले कार्यक्षमता, नियमसंगत, पारदर्शी ढङ्गले सरुवा बढुवाको काम गरिरहेको बताएका हुन्।

सरुवा बढुवाको मापदण्ड अझै अपुराे भएकोले त्यसलाई सुधार गरेर जान आवश्यक समेत भएको उल्लेख गरे । सरुवा, बढुवा तथा पदस्थापनमा आन्तरिक सुशासन कार्यान्वयन गरिरहेको बताउँदै पैसा वा अन्य कारणबाट हुने अवाञ्छित गतिविधि नियन्त्रण गरेको बताए ।

उनले भने-“आन्तरिक रूपमा सुशासन स्थापित नगरी सुशासन र सेवा प्रवाहको हाम्रो मिसन सफल हुँदैन भन्नेमा गृह प्रशासन प्रस्ट छ । आन्तरिक सुशासन भन्नाले समयमा कर्मचारी अफिस जानुपर्‍यो  । सेवाग्राहीको फाइल अड्काउनु भएन, अनावश्यक अवाञ्छित चलखेल पैसा वा अरू चलखेल भइरहेको छ भने हुन दिनु भएन । मापदण्डका आधारमा सरुवा बढुवा र पदस्थापन गर्नुपर्‍यो ।”

ठिक ढङ्गले काम गराइको मूल्याङ्कन गर्नुपर्ने बताउँदै आन्तरिक सुशासन कायम गरिरहेको बताए । विगतदेखि भइरहेको सरुवा बढुवाको अवाञ्छित गतिविधि शून्यमा झारेको  बताए । धेरै मेहनत गरेर मापदण्ड बनाएको र त्यो सफल भएको बताउँदै त्यसमा सांसद, नेता, कर्मचारीले प्रभाव पार्ने, हस्तक्षेप गर्न नहुनेमा जोड दिए ।