एसियन गेम्स: टी-२० विश्वकप छनोटलाई तयारीको अवसर



काठमाडौँ। चीनको ग्वाङ्झाओमा हुने १९औं एसियाली खेलकुद (एसियन गेम्स) मा नेपाली क्रिकेट टिमले २७ सेप्टेम्बरदेखि प्रतिस्पर्धा गर्दैछ।

१३ टिमले भाग लिने पुरुष क्रिकेट टी-२० फर्म्याटमा हुने छ। गत वर्षको अगष्टमा केन्यामा पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज खेलेपछि नेपालले टी-२० फर्म्याटमा खेल्न लागेको यो पहिलो प्रतियोगिता हो।

पछिल्लो एक वर्षमा नेपालले वान डे विश्वकपको छनोट मानिने लिग टु को अन्तिम चार सिरिजमा १६ खेल खेल्यो। लिग टु को अन्तिम १२ मध्ये ११ खेल जितेर ओडीआई मान्यता पनि जोगायो र विश्वकप छनोटमा स्थान बनाउन सफल भयो।

त्यस्तै एसीसी प्रिमियर कपको उपाधि जितेर नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग पनि ओडीआई  खेल्यो। अब भने नेपालको ध्यान टी-२० विश्वकपको छनोटतर्फ केन्द्रित छ। एसियन गेम्स नेपालका लागि महत्वपूर्ण छ किनभने नेपालले अब आगामी नोभेम्बरमा घरेलु मैदानमै हुने नेपालले टी-२० विश्वकपको छनोट खेल खेल्नुपर्नेछ।

टी-२० विश्वकप एसिया छनोटमा नेपाल, यूएई, ओमान, हङकङ, सिंगापुर, बहराइन, मलेसिया र छनोट हुन बाँकी अर्को एक गरी ८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् र शीर्ष दुई टोली आगामी वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी-२० विश्वकपमा छनोट हुनेछन्।

कप्तान रोहितकुमार पौडेलले टी-२० फर्म्याटका लागि पनि आफूहरु तयार रहेको बताए। ‘टी-२० फर्म्याटमा सबै जना अलि एग्रेसिभ भएर खेल्छन् । यसमा कसरी हुन्छ टार्गेट बढाउनेमा ध्यान दिनुपर्छ’, उनले भने।

चीनमा हुने एसियन गेम्समा नेपालले २७ सेप्टेम्बरमा मंगोलिया र १ अक्टोबरमा माल्दिभ्ससँग खेल्नेछ । समूह चरण पार गरेपछि भारत, पाकिस्तान, श्रीलंका वा बंगलादेशमध्ये कुनै देशसँग प्रतिस्पर्धाको अवसर हुनेछ ।

भारतमै आगामी अक्टोबर-नोभेम्बरमा हुने एकदिवसीय विश्वकपको तयारीमा रहेकाले यी देशले एसियन गेम्समा दोस्रो रोजाइको टिम पठाएका छन् ।

रोहितले प्रतिस्पर्धी जस्तो भए पनि आफ्नो खेल राम्रो बनाउन ध्यान दिने बताए ।  ‘वान गेम एट ए टाइम लिएर जाने हो’, त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा तयारी गरिरहेका उनले भने । ‘हामीले आफ्नो खेलमा फोकस गर्नुपर्छ र आफ्नो प्रोसेसलाई ध्यान दिनुपर्छ, सबै टिम टफ नै हुन्छन्’, उनले भने ।

टिममा परिवर्तन

एसिया कपमा नेपाली टोली १७ सदस्यीय थियो । जसमध्ये आरिफ शेख, भीम सार्की, किशोर महतो, अर्जुन साउद र श्याम ढकाल एसियाड खेल्ने टिममा छैनन् ।

विकेटकिपर विनोद भण्डारी, अलराउण्डर विवेककुमार यादव र फास्ट बलर अविनाश बोहराले टिममा पुनरागमन गरेका छन् । एसियाडका लागि नेपाली टिममा विनोद र आसिफ दुई विकेटकिपर छन् ।

कुशल भुर्तेल, रोहित पौडेल र सन्दीप जोरा अनुभवी ब्याटर छन् भने दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल र विवेक यादव अलराउण्डर छन् ।

सोमपाल कामी, करण केसी, गुल्सन झा, प्रतिश जिसी र अविनाश बोहरा फास्ट बलर तथा सन्दीप लामिछाने र ललित राजवंशी स्पिनरको भूमिका छन् ।