काठमाडौँ। एसिया कप क्रिकेट प्रतियोगिताको ‘सुपर फोर’ चरणमा घरेलु टोली पाकिस्तानले सुखद सुरुआत गरेको छ।
पाकिस्तानले ‘सुपर फोर’ चरणको पहिलो खेलमा बुधबार बंगलादेशलाई सात विकेटले पराजित गरेको छ। उक्त खेल पाकिस्तानको लाहोरमा खेलिएको थियो। टस जिती पहिलो ब्याटिङको निणर्य लिएको बंगलादेशले ३८.४ ओभरमा अलआउट हुनुअघि एक सय ९३ रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली पाकिस्तानले ३९.३ ओभरमा केवल तीन विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो ।
पाकिस्तानको जितमा ओपनर ब्याट्सम्यान इमाम उल हकले ७८ रनको योगदान गरे । उनले केवल ८४ बलको सामना गरी चार छक्का र पाँच चौका पनि हिर्काए । उनले नै पाकिस्तानी टोलीको जितको आधार तयार पारेका थिए । उनको विकेट हसन मिराजले लिएका थिए ।
चौथो नम्बरका ब्याट्सम्यान मोहम्मद रिजवानले पनि अर्धशतकीय पाली खेले । उनले अवजित ६३ रन बनाए । उनले ७९ बलको सामना गरी एक छक्का र सात चौका पनि हिर्काए । अघा सलमान १२ रनमा अविजित रहे ।
अर्का ओपनर ब्याट्सम्यान फाखर जामन २० रन बनाउँदै आउट भए । उनले ३१ बलको सामना गरी तीन चौका पनि हिर्काए । उनलाई बंगलादेशी बलर असोरिफुल इस्लामले एलबीडब्लूको धरापमा पारेका थिए । उनी आउट हुँदा पाकिस्तानले केवल ३५ रन बनाएको थियो ।
कप्तान बाबर आजम पनि १७ रन बनाउँदै आउट भए । उनले २२ बलको सामना गरी एक चौका हिर्काएका थिए । उनलाई तास्किन अहमदले बोल्ड गरेका थिए । दोस्रो विकेट गुमाउँदै पाकिस्तानले ७४ रन बनाएको थियो ।
त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशका लागि दुई ब्याट्सम्यानले अर्धशतक बनाएका थिए । चौथो नम्बरमा क्रिज समाल्न आएका कप्तान सकिब अल हसनले ५३ रन बनाए । उनले ५७ बलको सामना गरी सात चौका पनि प्रहार गरेका थिए ।
छैटौं नम्बरका ब्याट्सम्यान मुसफिकर रहिमले पनि टोलीको खातामा ६४ रन थपे । विकेटकिपर ब्याट्सम्यान रहिमले लामो समय क्रिजमा टिकेर ८७ बलको सामना गरी पाँच चौका पनि प्रहार गरे । ओपनर ब्याट्सम्यान मोहम्मद नइम २० रन बनाउँदै पेभेलियन फर्किए ।
अर्का ओपनर मेहिदी हसन मिराजले त खातासम्म खोल्न पाएनन् । लिटन दासले १६ रन बनाए भने समिम होसैनले पनि १६ रन नै बटुलेका थिए । आफिफ होसैन १२ रन बनाउँदै पेभेलियन फर्किए । बंगलादेशले अतिरिक्त रुपमा आठ रन पाएको थियो ।
पाकिस्तानी बलर ह्यारिस रउफ एक्लैले चार विकेट लिए । उनले ६ ओभरमा केवल १९ रन खर्चिए । अर्का तिब्रगतिका बलर नसिम शाहले पनि तीन विकेट हात पारे । साहिन शाह अफ्रिदी, फाहिम असरफ र इफ्तिखार अहमदले एक—एक विकेट लिए ।