सुर्खेत। प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्धको लडाइँ सुरु भएको बताएका छन्।
वीरेन्द्रनगरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले भ्रष्टाचारविरुद्धको लडाइँ नरोकिने पनि बताएका हुन् । यसमा सबै राजनीतिक दलहरुले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले क्रान्तिकारीहरुले चनाखो र अझ ठूलो मोर्चा बनाउनुपर्ने बताए । कम्युनिस्ट आन्दोलनलगायतका विभिन्न आन्दोलनले नै नेपालमा परिवर्तन ल्याएको भन्दै उनले समाजवादी मोर्चा बनाउँदा अरूभन्दा आफू बढी खुसी भएको बताए ।
प्रधानमन्त्री प्रचण्डले विप्लवको सुरक्षा घेरामा आफूले जनयुद्ध अगाडि बढाएको उल्लेख गरेका छन् । तर आफूहरु एक ठाउँमै रहेर अघि बढ्न नसकेको प्रति उनले चिन्ता व्यक्त गरे ।
प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चाले थप उत्साहित भएको बताए । ‘यो मोर्चा एक ठाउँमा भएर लड्दा भ्रष्टाचारविरुद्धको लडाइँ, सुशासनको लडाइँ सफल हुन्छ । अहिले धारे हात लगाएर हेरिरहेका छन् । उनीहरु नक्कली कम्युनिस्ट हुन्’, एमाले परिवर्तनको पक्षमा नरहेको उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले परिवर्तनको पक्षमा अग्रसर हुनु आफ्नो प्रमुख लक्ष्य रहेको बताए । उनले भने,’म राम्रो काम गर्छु, कसले हटाउँदो रहेछ हेर्छु ।’
प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्धमा अग्रसर हुँदा कांग्रेस, एमालेलाई लक्षित गरेको भन्ने भनाई सहि नभएको दाबी गरे । माओवादीकै र स्वयं प्रचण्डकै त्यस्तो विषय आएपनि नछोड्न भनिएको उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले राम्रो काम गरेको प्रतिक्रियावादी र दलालहरुलाई सह्य नभएको बताए ।