नेपाल र पाकिस्तानबीचको बहुप्रक्षित खेल आज



काठमाडौँ। एसिया कप क्रिकेट प्रतियोगिताको १६औं संस्करण आज (बुधबार) देखि सुरु हुँदैछ।

एसिया कपका खेलहरु सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकाका विभिन्न रंगशालामा खेलिनेछ। प्रतियोगिताको उद्घाटन खेलमा नवप्रवेशी नेपालले पहिलो वरियताको पाकिस्तानसँग भिडन्त गर्दैछ।

एसिया कपमा नेपालले पहिलो पटक सहभागिता जनाउन लागेको हो। पाकिस्तानको भने एसिया कपमा १४औं सहभागिता हो । एकदिवसीय विश्वकपको पूर्व विजेतासमेत रहेको पाकिस्तानले हालसम्म दुई पटक एसिया कपको उपाधि पनि चुमिसकेको छ ।

नेपालको तुलनामा अन्तर्राष्ट्रिय क्रिकेटमा निकै लामो इतिहास बोकेको पाकिस्तान शक्तिशाली टेस्ट राष्ट्र पनि हो । अहिले पनि पाकिस्तानी खेलाडीको नाममा विश्व क्रिकेटका थुप्रै कीर्तिमान छन् ।

एसिया कप सुरु हुनुभन्दा केहीअघि मात्र पाकिस्तान आईसीसी एकदिवसीय वरियताको पहिलो स्थानमा उक्लिएको छ । नेपाल भने आईसीसी एकदिवसीय वरियताको १५औं स्थानमा छ । यसपटक एसिया कपमा सहभागी ६ राष्ट्रमध्ये नेपाल सबैभन्दा तल्लो वरियतामा रहेको छ । यसका अतिरिक्त पाकिस्तानले मुल्तानस्थित घरेलु मैदानमा प्रतियोगिता खेल्ने अवसर पाएको छ भने नेपालका लागि रंगशालाको चरित्र पनि नौलो हुनेछ ।

यी सम्पूर्ण तथ्याङ्क र परिस्थितिले के देखाउँछ भने, बुधबार हुने एसिया कपको उद्घाटन खेलमा पाकिस्तानका लागि नेपाल निकै कमजोर प्रतिद्वन्द्वी हो । कम्तिमा पनि इतिहासले यही भन्छ ।

यो एसिया कपको समूहगत चरणमा नेपालका दुबै प्रतिद्वन्द्वी उस्तै छन् । समूह ‘ए’ मा रहेको नेपालको दोस्रो प्रतिद्वन्द्वी भनेको भारत हो । दुई पटकको एकदिवसीय विश्वकप विजेता र सर्वाधिक सात पटकको एसिया कप च्याम्पियन हो, भारत । विश्व क्रिकेटकै हस्ती भारतसँग नेपालले भदौ १८ गते श्रीलंकाको केन्डीमा आफ्नो दोस्रो खेल खेल्नेछ ।

आजभन्दा ४८ वर्षअघि सन् १९७५ मा भारत र पाकिस्तान एकदिवसीय विश्वकपको पहिलो संस्करण खेलिरहेका थिए । त्यतिबेला नेपाली क्रिकेट भने आफ्नै देशको सानो आकाशभित्र अल्झिएको थियो । नेपाली क्रिकेटले सन् १९९६ मा आएर आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको हो ।

नेपाली टोलीले सन् १९९६ को सेप्टेम्बर ६ तारिखमा मलेसियामा औपचारिक रुपमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो । त्यो एसीसी ट्रफी क्रिकेट प्रतियोगिता थियो । यस हिसाबले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको भर्खर २७ वर्ष पुग्दैछ ।

नेपालले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नुअघि नै भारत र पाकिस्तानले अन्तर्राष्ट्रिय क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकपको उपाधि नै चुमिसकेका थिए ।