काठमाडौँ। छिमेकी राष्ट्र चीनले जारी गरेको नयाँ नक्सामा नेपालको नयाँ नक्सालाई मान्यता नदिएको पाइएको छ।
सो नक्सामा नेपालको छुटेको भूभाग समेटेर जारी गरिएको नयाँ नक्साको साटो पुरानै नक्सा देखिएको हो। चीनले सोमबार स्ट्यान्डर्ड म्याप भन्दै नयाँ नक्सा जारी गरेको थियो। सो नक्सामा देखिएको नेपालको नक्सामा नेपालको चुच्चे भाग गायब छ। नेपालले २०७७ साल जेटमा नयाँ राजनीतिक नक्सा औपचारिक रूपमा सार्वजनिक गरेको थियो।
सो नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेतलाई समेटिएको थियो। सुगौली सन्धिअनुसार काली नदी र त्योभन्दा पूर्वको भूभागको अभिन्न अङ्ग भए पनि नेपालमा प्रचलित नक्सामा गुन्जी, नाभी, कुटी लगायत केही भूभाग समेटिएको थियो। सरकारले ती भूभागहरूलाई समेट्दै नयाँ नक्सा जारी गरेको थियो।
अंग्रेजी दैनिक ग्लोबल टाइम्सले सामाजिक सञ्जाल एक्समा यो नक्सा सार्वजनिक गर्दै भनेको छ,‘चीनको सन् २०२३ को स्टान्डर्ड म्याप सोमबार जारी भएको छ। यो नक्सा प्राकृतिक संसाधन मन्त्रालयको वेबसाइटमा लञ्च गरिएको हो। यो नक्सा चीन र विश्वका अन्य देशको ‘ड्रइङ मेथड’ को आधारमा बनाइएको छ।’
नयाँ नक्सामा भारतको अरुणाचल प्रदेश, अक्साई चीनलाई आफ्नो हिस्सा रहेको देखाइएको छ। नक्सामा साउथ चाइना सी र ताइवानलाई पनि चीनको हिस्सा बताइएको छ।