कोशी प्रदेशमा सत्ता गठबन्धनले संविधान मिच्ने काम गर्यो: नेता खनाल



काठमाडौँ। पूर्वप्रधानमन्त्री झलनाथ खनालले सत्ता गठबन्धनले संविधान उल्लङ्घन गरेको कुराको शिकार नेकपा (एकीकृत समाजवादी) बन्नु नहुने बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित पार्टी स्थापना दिवसको अवसरमा एक कार्यक्रममा बोल्दै खनालले संविधानको रक्षा गर्ने भन्ने गठबन्धनले बारम्बार संविधान मिचिरहेको बताएका हुन्। उनले कोशी प्रदेशबारे सर्वोच्च अदालतले दुई पटकसम्म संविधान विरोधी काम हो भन्दै गर्दा पार्टीको धारणा के हो ? भन्दै प्रश्नसमेत गरे।

उनले, ‘हामी संविधानको रक्षा गर्ने भन्छौँ तर संविधानको रक्षा गर्ने भन्ने हाम्रो यो गठबन्धन छ, त्यही गठबन्धनले नै संविधानको एकपछि अर्को उल्लङ्घन गरिरहेको छ भनेर सर्वोच्च अदालतले फैसला दिइरहेको छ। कोशीमा त दुई पटक संविधानको उल्लङ्घन भयो भनेर सर्वोच्च अदालतले फैसला दिइरहेको छ। हाम्रो पार्टीले कस्तो धारणा राखिरहेको छ? हाम्रो पार्टी क्लियर हुनुपर्छ। हामी गठबन्धनको नाउँमा उनीहरूले गरेका गलत कामको शिकार हुनु हुँदैन। हाम्रो पार्टीले आफ्नो स्वतन्त्रतालाई कायम गर्नुपर्छ। त्यसो गरे मात्रै पार्टी स्थापनाको महत्त्व हुन्छ।’

पूर्वप्रधानमन्त्री खनालले आफ्नो पार्टी देशको सबैभन्दा ठुलो पार्टी बन्न सक्ने सम्भावना भएको पार्टी रहेको दाबी गरे।