चन्द्रयान ३ मिसन सफल बनाउने भारतीय महिला वैज्ञानिक



काठमाडौँ। ‘चन्द्रयान ३’ को बुधबार चन्द्रमा सफलतापूर्वक अवतरणपछि भारत र विश्वभर भारतीय वैज्ञानिकको चर्चा सुरु भएको छ।

इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) का वैज्ञानिकहरुले कम प्रकाश पुग्ने र अवतरण गर्न कठिन मानिएको दक्षिणी ध्रुवमा बुधबार साँझ ‘चन्द्रयान ३’ को ‘सफ्ट ल्यान्डिङ’ गराएका हुन्।

असार २९ गतेको आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतिश धवन अन्तरीक्ष केन्द्रबाट चन्द्रयान ३ को प्रक्षेपण गरिएको थियो । जसमा रहेको प्रज्ञान रोभर ल्यान्डरबाट बाहिर निस्केर चन्द्रमाको सतहमा हिँड्न थालिसकेको छ।

चन्द्रयानको यो मिसनसँगै यसमा संलग्न महिला वैज्ञानिकहरुको पनि चर्चा सुरु भएको छ। इसरोको ‘कमाण्ड सेन्टर’मा महिला वैज्ञानिकको समूह फोटोहरु सार्वजनिक भएका छन् । इसरोको प्रमुख एस सोमनाथले महिला वैज्ञानिकहरुले यस अभियानमा महत्त्वपूर्ण भूमिका खेलेको बताएका थिए । भारतीय रुपैयाँ ७ अर्ब खर्च गरिएको चन्द्रयान ३ मा करिब १ हजार इन्जिनियर र वैज्ञानिक संलग्न थिए । जसमा एक सयभन्दा बढी महिला इन्जिनियर र वैज्ञानिक संलग्न रहेका थिए । भारतले यसअघि २०१९ मा चन्द्रमामा पठाएको चन्द्रयान २ अवतरणको अन्तिम समयमा दुर्घटनामा परेको थियो । त्यसबेलाको ज्ञान र अनुभवले अहिले चन्द्रयान ३ को मिसन सफल भएको मानिन्छ।

जसमा एम भनिथा, कल्पना के र रितु करिधल श्रीवास्तवको प्रमुख भूमिका थियो । मिसन सम्पन्न भएसँगै उनीहरूको चर्चा सुरु भएको हो । भनिथा र कल्पना मिसनमा उपनिर्देशकको रुपमा रहेका थिए भने रितुले समीक्षकको भूमिका निर्वाह गरेकी थिइन् ।

विज्ञान, प्रविधि, इन्जियरिङ तथा गणीत (स्टिम)का क्षेत्रमा पुरुषको दबदबा रहेको स्थानमा यी महिला वैज्ञानिकहरुको कौशललाई लिएर प्रशंसा गरिएको छ । ‘चन्द्रयान ३’ को समग्र अभियानमा भने एक सयभन्दा धेरै महिला वैज्ञानिकहरुको भूमिका थियो ।

कल्पना कलाहस्ती

बंगलोर मद्रासकी कल्पनाले चन्द्रयान ३ मिसनमा ल्यान्डर सिस्टरको डिजाइन गर्न र त्यसलाई परिस्कृत गर्न भूमिका खेलेकी थिइन् । ४३ वर्षीया कलाहस्ती सन् २००३ मा इसरोसँग संलग्न भएकी थिइन् । जतिबेला उनी २३ वर्षकी थिइन् । मंगलयान र भू उपग्रह प्रक्षेपणमा पनि उनले भूमिका खेल्दै आएकी थिइन् । सन् २०१९ मा चन्द्रयान २ मा पनि उनले उपनिर्देशकको रुपमा भूमिका खेलेकी थिइन् ।

उनले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी खडकपुरबाट एरोनोटिकल इन्जिनियरिङबाट ग्र्याजुएट र मद्रास युनिभर्सिटीबाट बिटेक गरेकी हुन् ।

एम भनिथा

एम भनिथा चन्द्रयान २ मा परियोजना निर्देशक रहेकी थिइन् । जवकि उक्त यान चन्द्रमामा अवतरणको अन्तिम चरणमा दुर्घटना भएको थियो । ५९ वर्षीया एम भनिथा पेशाले इलेक्ट्रोनिक सिस्टम इन्जिनियर हुन् । जो भारतको चन्द्र अभियानको नेतृत्व गर्ने पहिलो महिलासमेत हुन् ।

२००६ मा एस्ट्रोनोमिकल सोसाइटी अफ इन्डियाबाट ‘बेस्ट वोमेन साइन्टिस्ट’ को उपाधिसमेत पाएकी भनिथाले यसअघि भारतले सञ्चालन गरेका कार्टोस्याट- १, ओसनस्याट- २, मेघाट्रोपिक्स र २०१३ को सफल मंगलयान मिसनमा उपनिर्देशकको रुपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।

रितु करिधल श्रीवास्तव

चन्द्रयान ३ मिसनमा ४८ वर्षीया रितु करिधल श्रीवास्तवको सबैभन्दा बढी चर्चा भएको छ । ‘रकेट लेडी’को उपनामले चिनिने रितुलाई ‘चन्द्रयान ३’ मिसन सफल बनाउने प्रमुख वैज्ञानिकका रुपमा पनि चर्चा गरिएको छ ।

यस मिसनमा उनको महत्त्वपूर्ण भूमिका रहेको भारतीय र अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । इसरोको महत्त्वपूर्ण सम्पत्ति भन्दै चर्चा गरिएकी रितुले यसअघि मंगल ग्रहमा अन्तरीक्ष यान पठाउने मिसनमा पनि महत्त्वपूर्ण भूमिका खेलेकी थिइन् ।

उत्तर प्रदेशको लखउनस्थित मध्यम वर्गीय परिवारमा जन्मिएकी रितुले लखउन विश्वविद्यालयबाट भौतिकशास्त्रमा स्नातक र इन्डियन इन्स्टिच्युट अफ साइन्सबाट एरोस्पेस इन्जिनियरिङ (एमई) गरेकी हुन् । सानै उमेरदेखि अन्तरीक्ष विज्ञानमा चासो राख्ने रितु सन् १९९७ मा इसरोमा प्रवेश गरेकी थिइन् । यसअघि मंगलयान मिसनमा पनि उनले उपनिर्देशकको रुपमा भूमिका निर्वाह गरेकी थिइन् । २०१३ को मंगलयान मिसनलाई इसरो वैज्ञानिकहरुको महत्त्वपूर्ण उपलब्धिको रुपमा हेरिन्छ ।

रितुकै लगन र मिहिनेतका कारण भारत १८ महिनामै मंगल ग्रहमा पुगेको थियो भने त्यसबेला अभियानको लागत पनि घटेको थियो । चन्द्रयान ३ मा काम गर्नुअघि उनले चन्द्रयान २ मा मिसन डाइरेक्टरको रुपमा काम गरेकी थिइन । त्यसैगरी चन्द्रयान १, जीस्यान ६ ए र जिस्याट ७ ए मा पनि उनी संलग्न रहेकी थिइन् ।

यससँगै दक्षिण एसियाली मुलुक भारत चन्द्रमामा पुग्ने चौथो देश बनेको छ । अमेरिका, रुस र चीनपछि भारतले चन्द्रमामा सफल अवतरण गरेको छ । जवकि कठिन मानिने चन्द्रमाको दक्षिणी ध्रुवमा पहिलो पटक अवतरण गर्ने देश पनि भारत नै बनेको छ ।

भारतको यस मिसनले तीनवटा महत्त्वपूर्ण उपलब्धि हात पारेको छ । १. चन्द्रमाको सतहमा सुरक्षित र सफल अवतरण । २. चन्द्रमामा रोभरको ड्राइभिङ क्षम अवलोकन र प्रदर्शन । ३. चन्द्रमाको संरचनालाई राम्रोसँग बुझ्न चन्द्रमाको सतहमा उपलब्ध सामग्रीको प्रयोग र अवलोकन ।