काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले ललिता निवास जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई फसाउने षड्यन्त्र भएको दाबी गर्नु भएको छ।
शुक्रबार काठमाडौँमा आयोजित पार्टी निकट अनेरास्ववियुको स्थायी कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाँले माधव नेपालले भ्रष्टाचार गर्यो भनेर संसारमा कसैले पनि नपत्याउने दाबी गर्नु भएको हो।
समकालीन नेताहरुमध्ये सबैभन्दा स्वच्छ छविको नेता नेपाल नै रहेकोसमेत मन्त्री ज्वालाको दाबी थियो। मन्त्री ज्वालाले भ्रष्टाचारको सवालमा राष्ट्रको ढुकुटीमाथि कोल्टे नजर लगाउने हिसाबले माधव नेपाललाई कसैले प्रश्न उठाउन नसक्ने बताउनु भयो। उहाँले अदालतले दोषी साबित गरे पनि वा ओभर साइट एजेन्सीहरूले भने पनि त्यसलाई जनताले नपत्याउने जिकिर गर्नु भएको छ।
उहाँले भन्नुभयो, ‘ललिता निवास जग्गा काण्डमा हाम्रो पार्टीका अध्यक्षलाई फसाउने प्रयास भएको छ। माधव नेपालले भ्रष्टाचार गर्यो भनेर यो दुनियाँमा कसैले पत्याउँछ। सायद समकालीन नेताहरुमध्ये सबैभन्दा स्वच्छ छविको सबै कुराले पूर्ण त कोही पनि व्यक्ति हुँदैन। माधव नेपाल पनि हर हिसाबले पूर्ण होइन होला। कर्मी, सीमाहरू होलान्। तर,भ्रष्टाचारको सवालमा राष्ट्रको ढुकुटीमाथि कोल्टे नजर लगाउने हिसाबले माधव नेपाललाई कसैले प्रश्न उठाउन सक्दैन। हामी जुनसुकैले निर्णय गरे पनि त्यसको च्यालेन्ज गर्न तयार छौँ। अदालतले बोलोस्, अरु कसैले बोलोस्,ओभर साइट एजेन्सीहरूले बोलुन्,त्यसलाई जनताले पत्याउँदैनन्।’